खाेप सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी र स्थानीय सरकार थप जिम्मेवार बन्नुपर्छ : सचिव श्रेष्ठ
देउखुरी ६ पुुस । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयकाे आयाेजना तथा स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको नेतृत्व तथा वाटरएड नेपालको प्राविधिक सहयोगमा संचालित खोप सेवा मार्फत सरसफाई प्रवर्द्धन कार्यक्रमको प्रभाकारिता मूल्यांकन प्रतिवेदन सार्वजनिकीकरण र परियोजनाको दिगोपनाको लागि रणनीति तयारी सम्बन्धी प्रदेश स्तरीय कार्यशाला गोष्ठी आज राप्ती उपत्यका देउखुरीमा सम्पन्न भएकाे छ ।
स्वास्थ्य निर्देशक राेशनलाल चाैधरीकाे अध्यक्षता एवम् लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गालक्ष्मी श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएकाे गाेष्ठीमा बाेल्दै सचिव श्रेष्ठले समग्र स्वास्थ्य सेवाकाे पहुँच र गुणस्तर कायम गर्न सबै जिम्मेवार बन्नु पर्ने बताइन् । उनले खाेप सेवालाई थप प्रभावकारी बनाउन स्वास्थ्यकर्मीले मात्र चाहेर नहुने बताउँदै स्थानीय सरकार थप जिम्मेवार बन्न आग्रह गरिन् । गाेष्ठीमा नियमित खाेप मार्फत सरसफाई प्रबर्द्धन कार्यक्रमकाे औचित्य तथा आगामी कार्यदिशा सहितकाे बिषयमा स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निर्देशक वेदप्रसाद भण्डारी र कार्यक्रमकाे अवधारणा तथा मुख्य उपलब्धी वाटरएड नेपालका धिरेन्द्र भुजेल र नियमित खाेप मार्फत सरसफाई प्रबर्द्धन कार्यक्रमकाे मुल्यांकन प्रतिवेदनकाे बिषयमा अन्बेषण प्रालिका मनिष गाैतमले प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र डा. राजेन्द्र गिरी र वाटरएड नेपालका पूर्व महानिर्देशक लक्ष्मीप्रसाद पाठक लगायतका बक्ताले बाेलेका थिए । कार्यक्रमकाे सहजीकरण स्वास्थ्य निर्देशनालयका परिवार नियाेजन निरिक्षक कुमार थापाले गरेका थिए ।
