राप्ती प्रेस मञ्चद्वारा धानखोला-लमही सडक खण्ड ४ वा ६ लेनमा स्तरउन्नती गर्न माग
भालुवाङ ६ पुस । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले धानखोला-लमही सडक खण्डलाई ४ वा ६ लेनमा स्तरउन्नती गर्न माग गरेको छ ।
मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारी र महासचिव ओमप्रकाश गुप्ताले एक प्रेस विज्ञप्ति जारी गरि हालको सडकलाई दुई लेनमै सिमित गर्न खोजिएको भन्दै मञ्चको गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल सो परियोजना खारेज गरि सो सडक खण्डलाई ४ वा ६ लेनमा स्तरउन्नती गर्न माग गरेको हो । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी क्षेत्रमा प्रस्तावित दुई लेनको धानखोला-लमही सडक खण्डमा एमसिसि परियोजना अन्तरगत एमसीए नेपालले साविकको ७ मि. सडकलाई दायाँ बाँया २.५/२.५ मिटर थपेर १२ मि. मात्र समिति गरि उहि २ लेनकै सडक स्तरउन्नती गर्न खोजिएको प्रति सरकारको समेत ध्यानाकर्षण गराएको छ ।
पछिल्लो समय बढ्दो शहरीकरण, सवारी चाप, जनसंख्या वृद्धि, औद्योगिक तथा व्यापारिक गतिविधिको विस्तारलाई मध्यनजर गर्दै उक्त सडक आयोजनालाई सुरु देखिनै ४ वा ६ लेनमा निर्माण गर्नुपर्ने आवश्यकता रहेको मञ्चले बताएको छ । हाल प्रस्तावित दुई लेन सडक भविष्यको आवश्यकतालाई सम्बोधन गर्न पर्याप्त नहुने र एमसिसी विवादित परियोजना पनि भएकोले संघिय संसदबाट पास गरि अगाडि बढाइएकोले सो परियोजना खारेजीको माग गरेको हो । सो सडक खण्डले देउखुरी क्षेत्रका विभिन्न बस्ती, कृषि उत्पादन क्षेत्र, उद्योग, व्यापार तथा सेवा क्षेत्रलाई जोड्ने भएकाले ४ वा ६ लेनमा निर्माण गरिएमा सवारी आवागमन सहज, सुरक्षित र दिगो हुने छ । साथै, सडक दुर्घटनाको जोखिम न्यूनीकरण हुनुका साथै समय र इन्धनको बचत भई समग्र विकासमा टेवा पुग्ने विश्वास लिएको छ ।
४ वा ६ लेन सडक निर्माणले स्थानीय रोजगारी सिर्जना, क्षेत्रीय व्यापार प्रवर्द्धन तथा लगानीमैत्री वातावरण तयार गर्न सहयोग पुऱ्याउने विश्वास लिइएको छ । दीर्घकालीन दृष्टिले हेर्दा, अहिले नै आवश्यक चौडाइ र संरचना सुनिश्चित गरिएमा भविष्यमा पुनः विस्तार गर्नुपर्ने अतिरिक्त लागत र झन्झटबाट राज्य जोगिन सक्ने छ । यसै सन्दर्भमा एमसिए नेपाल, नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग तथा सरोकारवाला सबै पक्षलाई प्रस्तावित धानखोला-लमही सडक आयोजनालाई दुई लेनको सट्टा ४ वा ६ लेनमा सडक निर्माण गर्ने निर्णय गर्न हार्दिक अनुरोध गरेको छ ।
यसै बीच मञ्चले आजै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई समेत सो सडकलाई २ लेनमा सिमित नगर्न र भोलि हुने सम्झाैता समेत नगर्न नगराउन ध्यानाकर्षण गराउन ध्यानाकर्षणपत्र बुझाउन लागेको मञ्चका महासचिव ओमप्रकाश गुप्ताले जानकारी दिनु भएको छ । आज दिउँसो १ बजे मञ्चले ध्यानाकर्षण पत्र बुझाउन लागेको हो ।

