पत्रकार महासंघको ३३ औं स्थापना दिवस, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य स्वीकार्य हुँदैन : शर्मा
दाङ ४ पुस । नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि कार्य अस्वीकार्य हुने बताएकी छन्।
नेपाल पत्रकार महासंघ दाङको ३३ औं स्थापना दिवसको उद्घाटन गर्दै अध्यक्ष शर्माले कुनै न कुनै बहानामा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर पार्ने षड्यन्त्रहरू भइरहेको उल्लेख गरिन । यस्ता गतिविधिहरूलाई पत्रकार महासंघले स्वीकार नगर्ने उनको स्पष्ट धारणा थियो । ‘पत्रकार महासंघ अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढतासाथ उभिएको छ र भविष्यमा पनि उभिरहनेछ, ‘अध्यक्ष शर्माले भनिन्, ‘यो अभियान महासंघले निरन्तर अघि बढाइरहेको छ।’
अध्यक्ष शर्माले वर्तमानमा देखिएको विषम परिस्थितिको समाधान निर्वाचनबाट प्राप्त जनमतले नै गर्ने बताउँदै समयमै निर्वाचन हुनुपर्नेमा जोड दिइन् । उनले निर्वाचनका लागि सरकारले उपयुक्त वातावरण निर्माण गर्नुपर्ने धारणा पनि व्यक्त गरिन्। सामाजिक सञ्जाल प्रयोग गर्दा समेत पत्रकारहरु सचेत हुनुपर्ने बताइन् । सामाजिक सञ्जालमा आउने गलत सूचना र अफवाहका कारण समाजमा भ्रम फैलिन सक्ने भएकाले पत्रकारले सत्य, तथ्यपरक र विश्वसनीय सूचना प्रवाहका लागि जिम्मेवार भएर आफ्नो पेसा गर्नुपर्ने बताइन् । सही सूचना प्रवाहमार्फत नागरिकलाई सत्य जानकारी दिनु पत्रकारको दायित्व भएको उल्लेख गर्दै अध्यक्ष शर्माले जिम्मेवार पत्रकारिताबाटै प्रेसप्रति जनविश्वास मजबुत हुने धारणा व्यक्त गरिन् । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपाल (एनटिभी) मा कार्यरत पत्रकार नवीन नेपाली सहित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
