सिटी रिक्सा चालकलाई वैकल्पिक माध्यमबाट लाइसेन्स दिन माग
भालुवाङ १६ कार्तिक । सिटी रिक्सा चालकहरूले लाइसेन्स प्राप्तिका लागि भोग्दै आएको समस्या समाधानका लागि वैकल्पिक व्यवस्था गर्न माग गरिएको छ ।
विकल्प-एन अल्टरनेटिभका संस्थापक तथा कार्यकारी निर्देशक बसन्त अधिकारीले लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा आइतबार पत्रकार सम्मेलन गरी सिटी रिक्सा चालकहरूका समस्या र समाधानका उपायबारे जानकारी गराएका हुन । उनका अनुसार सिटी रिक्सा आजका दिनमा तराईका सहरहरूमा हजारौं मानिसको आम्दानी र जीविकोपार्जनको प्रमुख साधन बनेको छ । विद्युतबाट चल्ने भएकाले यो वातावरणमैत्री मात्र होइन, सस्तो र सुलभ यातायातका रूपमा पनि प्रभावकारी साबित भएको छ । तर, अधिकांश चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएकाले उनीहरू इन्सुरेन्स र कानुनी सुरक्षाबाट वञ्चित हुँदै आएका छन् ।
नाै सय ६३ जनमा गरिएको सर्भेक्षणका आधारमअ कोशी प्रदेशमा करिब ७८ प्रतिशत सिटी रिक्सा चालकसँग लाइसेन्स छैन भने विराटनगरमा मात्र ८४६ जना चालक लाइसेन्सविहीन छन् । जनकपुरमा ८१, सिद्धार्थनगरमा ६२ र नेपालगञ्जमा करिब सयजना चालकसँग पनि लाइसेन्स नभएको सर्वेक्षणले देखाएको अधिकारीले जानकारी दिए । उनका अनुसार धेरैजसो सिटी रिक्सा चालकहरू साक्षर नभएकाले लिखित परीक्षा पास गर्न नसक्दा लाइसेन्स लिनबाट बञ्चित हुने अवस्था आएको हो ।`ट्याक्टर चालकका लागि जस्तै ट्रायल परीक्षा मात्रै दिएर लाइसेन्स पाउने व्यवस्था सिटी रिक्सा चालकहरूका लागि पनि गर्नुपर्छ,´उनले भने ।
अधिकारीले साक्षरता अभावका कारण लिखित परीक्षाको सट्टा मौखिक अन्तर्वार्ता वा साङ्केतिक प्रश्न प्रणालीमार्फत परीक्षा लिन सकिने प्रस्ताव गरेका छन । उनका अनुसार यस्तो व्यवस्था गरे चालकहरूलाई कानुनी सुरक्षा, इन्सुरेन्स सुविधा र यात्रु सुरक्षामा समेत सुधार आउनेछ । उनले सिटी रिक्सा चालकहरूको रोजगारी, यात्रु सुरक्षाको हित र व्यवस्थापन सुधारका लागि नीतिनिर्माताले तत्काल ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।

