दुर्गाभवानीका विद्यार्थीले तयार पारेको मखमलीको चिया र थारु परिकारले सबको मन जित्यो



दुर्गाभवानीका विद्यार्थीले तयार पारेको मखमलीको चिया र थारु परिकारले सबको मन जित्यो

भालुवाङ १५ कार्तिक । दाङको राप्ती गाउँपालिकामा स्थानीय खाद्य परिकार प्रदर्शनी तथा भैलो महोत्सवमा विद्यार्थीले तयार पारेको मखमलीको चिया र लालचनको चिया सँगै थारु परिकारले सबैको आकर्षणको केन्द्र बन्न सफल भयो । चियामा ढकमक–रंगीन मखमली फूल र लेवनग्रास मिसाएर प्रयोग गरिएकाले यसको स्वाद, रंग र स्वास्थ्य फाइदाले महोत्सवमा आएका सवै प्रभावित बने ।

राप्ती गाउँपालिका–३ मसुरियामा रहेको दुर्गाभवानी आधारभूत विद्यालयका विद्यार्थीहरु प्रदर्शनीमा सहभागी भई दैनिक जीवनमा सजिलै भेटिने मखमली फूल प्रयोग गरी रङ्गीन, सुगन्धित चिया तयार पारेका थिए । चिया परिक्षण गरेका आगन्तुकहरूले यसले कोलेस्ट्रोल तथा रक्तचाप नियन्त्रण गर्न मद्दत गर्ने, खोकी, घाँटीको दुखाई, तनाव घटाउने, छाला चमकाउने तथा रगत शुद्धिकरणमा मद्दत गर्ने विश्वास व्यक्त गरे । त्यस्तै उनीहरुले लालचनको चिया पनि प्रदर्शनीमा राखेका थिए । लालचनको चियाले पेटबाट ग्यास, कब्जियत घटाई पाचन प्रक्रियालाई सुधार गर्ने, मुटु तथा रक्त नलिहरु स्वस्थ राख्ने, शरीरबाट विषाक्त पदार्थहरु हटाउन र मुत्र मार्ग सफा राख्ने, छाला तथा कपाल स्वस्थ राख्न मद्दत गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने विद्यालयका प्रधानाध्यापक केशवराज आचार्यले जानकारी दिएका छन् ।

कक्षा ८ की ममता चौधरी भन्छिन्, “दिपावलीमा मात्र प्रयोग हुने मखमलीलाई उपयोगी पेय बनाएर सबैलाई स्वास्थ्य सँगै स्वादको नयाँ अनुभव दिन सफल भएको बताइन् ।” यस्तै विद्यार्थीले प्रदर्शनीमा राखेको थारु परिकारले समेत सवैको ध्यान केन्द्रित गरेको थियो । उनीहरुले स्टलमा मासको खरिया र ढिक्री राखेका थिए । १० हजार लगानीमा तयार गरेका चिया र थारु परिकारबाट विद्यार्थीहरुमा सिपको विकास सँगै रोजगारीको सिर्जना र चेतनाको विकास भएको विद्यालयले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे