आशाका किरण संस्थाद्धारा राप्तीमा एक हप्ते सरसफाइ सचेतना कार्यक्रम सुरु
भालुवाङ १२ जेठ। दाङकाे राप्ती गाउँपालिकामा साेमवार देखि एक हप्ते सरसफाइ सम्बन्धि सचेतनामूलक कार्यक्रम सुरु भएकाे छ ।
राप्ती गाउँपालिकाकाे सहयाेगमा आशाका किरण संस्थाले एक हप्ते सरसफाइ सचेतनामूलक कार्यक्रम सुरु गरेकाे हाे । संस्थाका अध्यक्ष अशोक बेल्वासेकाे नेतृत्वमा भालुवाङ बजार क्षेत्रमा सरसफाइको तथा फोहोर व्यवस्थापन सम्बन्धि जनचेतनामूलक सन्देश प्रदान गरिएको छ। कार्यक्रम अन्तर्गत बजार क्षेत्रका पसलहरूमा गई व्यापारीहरूलाई फोहोर नफाल्ने र सफाइमा ध्यान दिन आग्रह गरिनुका साथै स्थानीय यातायातमा प्रयोग हुने सवारी साधन तथा यात्रुहरूलाई पनि सडकमा फोहोर नफाल्न अनुरोध गरिएको थियो। साथै सवारी साधनहरूमा अनिवार्य रूपमा डस्टबिन राख्न सुझाव दिइएको थियो।
कार्यक्रम बिहान ७ बजे देखि ९ बजे सम्म र साँझ ५ बजे देखि ६ बजे सम्म दुई सिफ्टमा सञ्चालन गरिएको थियो। कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष दिवस आचार्य, उपाध्यक्ष श्रीधर जिसी, महासचिव लोकमणि भुसाल, संस्थापक अध्यक्ष सूर्य किरण केसी, सदस्यहरू श्रृजना खड्का, पवित्रा बिक, राजहादी सामुदायिक वनका अध्यक्ष डिल्लीराज सुवेदी, समाजसेवी विशाल ज्ञावली, राप्ती गाउँपालिकाका सरसफाइ शाखाका प्रतिनिधि सुरेश, इलाका प्रहरी कार्यालय भालुवाङ र अस्थायी ट्राफिक प्रहरी पोस्ट भालुवाङका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यस कार्यक्रम मार्फत स्थानीय स्तरमा सरसफाइको महत्वबारे जनचेतना फैलाउने लक्ष्य राखिएको आयोजकहरूले बताएका छन्।

