राप्तीका पत्रकारहरू ए.आई प्रविधि सम्बन्धि सीप सिक्दै
भालुवाङ १२ जेठ । दाङको राप्ती गाउँपालिकाका पत्रकारहरू अहिले कृत्रिम बुद्धिमत्ता (ए.आई) प्रविधि सम्बन्धि सीप सिक्न थालेका छन् ।
राप्ती प्रेस मञ्चले राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा जेठ १२ गते देखि १३ गते सम्म २ दिन मसुरीयामा आयोजना गरेको तालिममा सहभागी भएर पत्रकारहरूले ए.आई प्रयोग गरेर समाचार लेखन लगायतका कार्यमा दक्षता हासिल गर्न थालेका हुन् । तालिममा सहभागी पत्रकार विदुर एमसीले, “समाचार लेख्न त आउँछ तर प्रविधिको सहायताले सजिलै लेख्न सकिने रहेछ भन्ने कुरा सिकियो,” भन्दै तालिम उपयोगी भएको बताए । अर्की सहभागी लक्ष्मी पोख्रेलले प्रविधिमैत्री तालिमले पत्रकारितामा सहजता ल्याएको अनुभव सुनाउँदै यस्ता तालिमले कार्यसम्पादनमा थप उत्साह जागृत गराउने बताइन् । मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले, “प्रविधिको अधिकतम सदुपयोग गर्दै सत्यतथ्यमा आधारित पत्रकारिता गर्नु आजको आवश्यकता हो,” भन्दै सकारात्मक सोच र पेशागत उत्तरदायित्वका साथ समाचार संप्रेषण गर्न सुझाव दिए ।
अध्यक्ष विष्टले पत्रकारहरूलाई बिना पूर्वग्राही तथ्यमा आधारित समाचार संप्रेषण गर्न सरकारको अपेक्षा रहेको स्पष्ट पारे । उनले अहिलेको डिजिटल युगमा हरेक नागरिकले सूचना प्रविधिको सही सदुपयोग गर्न सके त्यसबाट समाज र राष्ट्रलाई धेरै लाभ हुने बताए । तर, प्रविधिको गलत प्रयोगले ठूलो हानी पु¥याउने सम्भावना रहेको भन्दै सचेत रहन पनि उनले सुझाव दिए । अध्यक्ष विष्टले लुम्बिनी प्रदेशको समग्र विकासमा पत्रकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै प्रविधिको उचित प्रयोगले पत्रकारिता अझ प्रभावकारी बन्ने धारणा व्यक्त गरे। उनले पत्रकारिता राज्यको चौथो अंग भएकाले स्थानीय सरकार पनि पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रतिबद्ध रहेको र आगामी आर्थिक वर्षको योजना तथा बजेटमा आवश्यक कार्यक्रमहरू समावेश गरिने जानकारी दिए । यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले डिजिटल युगमा नयाँ प्रविधिको सही प्रयोगले पत्रकारितामा नयाँ आयाम थप्ने भन्दै डिजिटल मिडियालाई प्लेटफर्मका रूपमा बुझ्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डव प्रसाद शर्मा, प्रशिक्षक सुर्दशन रिजाल लगायतको विशेष उपस्थिती रहेको थियो । तालिममा राप्ती गाउँपालिकामा क्रियाशील २० जना पत्रकारको सहभागिता रहेको तालिमको प्रशिक्षकहरुमा सुर्दशन रिजाल, पाण्डव प्रसाद शर्मा, विकास डाँगी, प्रमोद कार्की रहेका छन् । मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको तालिम उद्घाटन कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।
यसै बीच राप्ती प्रेस मञ्चले कृष्णसेन इच्छुक स्मृति दिवस र गणतन्त्र दिवस मनाउने भएको छ । मञ्चको हालै बसेको कार्यसमितिको बैठकले दुवै दिवस मनाउने निर्णय गरेको छ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सक्रिय पत्रकारहरूको छाता मञ्च राप्ती प्रेस मञ्चको आयोजनामा महान् सांस्कृतिक शहीद कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस समारोह आयोजना गर्न लागेको हो । सन् २०६० जेठ १३ गते शहीद भएका इच्छुकको योगदानलाई स्मरण गर्दै जेठ १३ गते मंगलबार बिहान ठिक ७ बजे देउखुरीको भालुवाङ स्थित इच्छुकचोक पुलचोक बजार स्थित इच्छुकको सालिक परिसरमा स्मृति सभा आयोजना गरिएको मञ्चका महासचिव ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।
देशको लोकतान्त्रिक रूपान्तरण, समावेशिता र समानताको पक्षमा आवाज उठाउँदै जीवन आहुति दिएका शहीद इच्छुकको योगदान प्रति सम्मान प्रकट गर्दै स्मृति दिवस मनाउन लागिएको आयोजकले जनाएको छ । सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरलाई निमन्त्रणा गरिएको मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीले जानकारी दिएका छन् । मञ्चका अध्यक्ष अधिकारी र वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताले सभामुखलाई भेट गरी निमन्त्रणा गरेका हुन् । कार्यक्रममा दाङ–देउखुरीका साथै अर्घाखाँची, प्यूठान र कपिलवस्तुबाट पनि इच्छुकका सहपाठी, साथीभाइ, स्रष्टा तथा शुभेच्छुकहरूको उपस्थितिका लागि चुले निम्तो दिइएको छ । राप्ती प्रेस मञ्चले सबैलाई स्मृति कार्यक्रममा सहभागी भई शहीद इच्छुक प्रति श्रद्धाञ्जली अर्पण गर्न हार्दिक आग्रह गरेको छ । यस्तै मञ्चले जेठ १५ गते राप्ती गाउँपालिका–५ सिसहनियाँ बजारमा दिप प्रज्वलन गरी गणतन्त्र दिवस मनाउन लागेको छ । दिवसका अवसरमा सम्पूर्णलाइ निमन्त्रणा समेत गरिएको छ ।
