सुशासन र पारदर्शीताका लागि मिडियाको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री आचार्य



सुशासन र पारदर्शीताका लागि मिडियाको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री आचार्य

देउखुरी १२ जेठ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यसँग नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चौलागाईं र महासचिव पाण्डव शर्माले सोमबार देउखुरीस्थित मुख्यमन्त्री कार्यालयमा भेटवार्ता गरेका छन् ।

भेटका क्रममा लुम्बिनी प्रदेशको पत्रकारिता क्षेत्रका समसामयिक मुद्दा, सञ्चार माध्यमले भोगिरहेका चुनौती र आगामी आर्थिक वर्षको बजेटमा पत्रकार र पत्रकारिताको समग्र बिकासका सन्दर्भमा समावेश गर्न कार्यक्रम र योजना बारे विस्तृत छलफल गरिएको थियो । मुख्यमन्त्री आचार्यले लोकतन्त्र, सुशासन र पारदर्शी शासन व्यवस्थाका लागि सञ्चार क्षेत्र अपरिहार्य भएको बताए । “नागरिकलाई सशक्त बनाउने, शासन प्रणालीलाई जवाफदेही बनाउने र राज्यको गतिविधिलाई जनतासामु पारदर्शी बनाउने काम मिडियाबाट सम्भव हुन्छ,” उनले भने । “यसकारण आगामी बजेटमा मिडिया क्षेत्रको सुदृढीकरण, पत्रकार सुरक्षाको प्रत्याभूति र सञ्चार माध्यमको प्रवर्द्धनसम्बन्धी नीतिगत तथा कार्यक्रमगत व्यवस्था गरिने छ,” मुख्यमन्त्रीको भनाइ थियो ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चौलागाईंले पत्रकारहरूले प्रदेशका दुर्गम क्षेत्रसम्म पुगेर सूचना प्रवाह गरिरहेको र सरकार तथा आम जनतालाई जोडने काम गरिरहेकाले उनीहरूको आर्थिक, सामाजिक सुरक्षामा सरकारले विशेष प्याकेज ल्याउन आवस्यक भएको बताए । “प्रदेश सरकारले पत्रकारको सीप अभिवृद्धि, सुरक्षाको प्रत्याभूति र स्थानीय सञ्चार संस्थाको दिगोपनाका लागि विशेष कार्यक्रम ल्याउनु आवश्यक छ,” उनले जोड दिए । उनले आगामी बजेटमा मिडियामैत्री नीति र कार्यक्रम समावेश गर्न माग गरे ।

महासचिव पाण्डव शर्माले सूचनाको पहुँच, पत्रकारिता अभ्यासको गुणस्तर र मिडिया हाउसहरूको सुदृढीकरणका लागि प्रदेश सरकारले दीर्घकालीन दृष्टिकोण बनाउनु पर्नेमा जोड दिए । “सञ्चारका नयाँ प्रविधिमा लगानी, पत्रकारलाई तालिम, अनुसन्धान र सामग्री विकासमा सहयोग पुर्‍याउने नीति आवश्यक छ,” शर्माले भने, “प्रदेश सरकारले पत्रकार महासंघसँग सहकार्य गर्दै सञ्चार क्षेत्रलाई बलियो बनाउनेतर्फ अग्रसर हुनुपर्छ ।”

भेटकाक्रममा मुख्यमन्त्रीका प्रेस संयोजक दशरथ घिमिरे पनि सहभागी थिए । उनले प्रदेश सरकारले पत्रकारसँगको नियमित समन्वयलाई संस्थागत गर्दै सञ्चार क्षेत्र सुदृढ पार्ने प्रतिवद्धता दोहोर्‍याए । बैठकमा सहभागी सबै पक्षले पत्रकारिता क्षेत्रको सशक्तिकरणका लागि सरकार र महासंघबीच सहकार्य, संवाद र विश्वासको वातावरण विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । छलफलले पत्रकार हित र मिडियाको दिगो विकासका लागि प्रदेश सरकारको भूमिकालाई स्पष्ट र उद्देश्यपूर्ण बनाउने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे