दाङकाे बङ्गलाचुली गाउँपालिकाका पूर्व अध्यक्ष भक्तबहादुर वली रास्वपामा प्रबेश



दाङ ७ फागुन ।  दाङकाे बङ्गलाचुली गाउँपालिकाका पूर्व अध्यक्ष भक्तबहादुर वली राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रबेश गरेका छन् । तत्कालिन नेकपा माओवादी केन्द्र र हालकाे  नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचित बङ्गलाचुली गाउँपालिका संस्थापक अध्यक्ष वली राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका हुन् ।

लामो समय देखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आएका वलीले हालै आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता ग्रहण गरेका हुन् । वलीलाई पार्टीका सह महामन्त्री तथा दाङ क्षेत्र नं २ का उम्मेद्धार विपिनकुमार आचार्य र केन्द्रिय सदस्य ई. अनन्तराज घिमिरेले स्वागत गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै वलीले देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कार स्थापना गर्न नयाँ विकल्प आवश्यक भएको उल्लेख गरे । उनले स्थानीय तहको नेतृत्व सम्हाल्दा जनताका अपेक्षा र व्यवहारिक चुनौतीहरू नजिकबाट अनुभूति गरेको बताउँदै अब वैकल्पिक शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत जनताको आवाजलाई अझ प्रभावकारी ढंगले उठाउने प्रतिबद्धता व्यक्त गरे ।

बंगाचुली गाउँपालिकामा अध्यक्षको जिम्मेवारी सम्हाल्दा वलीले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा विभिन्न योजनाहरू अघि बढाउन भूमिका खेलेका थिए । स्थानीय तहमा जनप्रतिनिधिको हैसियतले काम गरिसकेका वलीको पार्टी परिवर्तनलाई दाङको राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला , प्रदेश तथा केन्द्र स्तरीय नेताहरूको उपस्थिति रहेको थियो ।उनीहरूले वलीजस्तो अनुभवी र जनआधार भएका नेता पार्टीमा प्रवेश गर्नु सकारात्मक संकेत भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे