राप्ती प्रेस मञ्चले जेठ १३ गते कृष्णसेन इच्छुक स्मृति दिवस र १५ गते गणतन्त्र दिवस मनाउने
भालुवाङ ११ जेठ । दाङकाे राप्ती गाउँपालिकामा रहेकाे राप्ती प्रेस मञ्चले कृष्णसेन इच्छुक स्मृति दिवस र गणतन्त्र दिवस मनाउने भएकाे छ ।
मञ्चकाे हालै बसेकाे कार्यसमितिकाे बैठकले दुवै दिवस मनाउने निर्णय गरेकाे छ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सक्रिय पत्रकारहरूको छाता मञ्च राप्ती प्रेस मञ्चको आयोजनामा महान् सांस्कृतिक शहीद कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस समारोह आयोजना गर्न लागेकाे हाे। सन् २०६० जेठ १३ गते शहीद भएका इच्छुकको योगदानलाई स्मरण गर्दै आगामी २०८२ जेठ १३ गते मंगलबार बिहान ठिक ७:०० बजे देउखुरीको भालुवाङ स्थित इच्छुकचोक (पुलचोक बजार स्थित इच्छुकको सालिक परिसर) मा स्मृति सभा आयोजना गरिएकाे मञ्चका महासचिव ओमप्रकाश गुप्ताले जानकारी दिएका छन्।
देशको लोकतान्त्रिक रूपान्तरण, समावेशिता र समानताको पक्षमा आवाज उठाउँदै जीवन आहुति दिएका शहीद इच्छुकको योगदान प्रति सम्मान प्रकट गर्दै स्मृति दिवस मनाउन लागिएको आयोजकले जनाएको छ। कार्यक्रममा दाङ–देउखुरीका साथै अर्घाखाँची, प्यूठान र कपिलवस्तुबाट पनि इच्छुकका सहपाठी, साथीभाइ, स्रष्टा तथा शुभेच्छुकहरूको उपस्थितिका लागि “चुले निम्तो” दिइएको छ। राप्ती प्रेस मञ्चले सबैलाई स्मृति कार्यक्रममा सहभागी भई शहीद इच्छुक प्रति श्रद्धाञ्जली अर्पण गर्न हार्दिक आग्रह गरेको छ। यस्तै मञ्चले जेठ १५ गते राप्ती गाउँपालिका–५ सिसहनियाँ बजारमा दिप प्रज्वलन गरी गणतन्त्र दिवस मनाउन लागेकाे छ । दिवसका अवसरमा सम्पूर्णलाइ निमन्त्रणा समेत गरिएकाे छ ।
