जलवायुमैत्री कृषि प्रविधि तालिम सम्पन्न : बुढीचौरका किसानहरू लाभान्वित

भालुवाङ ९ जेठ । दाङकाे राप्ती गाउँपालिका–४ बुढीचौरमा ‘नामसालिङ सामुदायिक विकास केन्द्र’ द्वारा सञ्चालित “एकीकृत सामुदायिक विकास परियोजना” अन्तर्गत समुदायका किसानहरूलाई लक्षित गर्दै जलबायु मैत्री कृषि प्रविधि तालिम सम्पन्न भएको छ। विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिकाको समन्वयमा आयोजित उक्त तालिममा कुल २६ जना स्थानीय किसानहरूको सहभागिता रहेको थियो।
परियोजनाको “खाद्य सुरक्षा तथा जलवायु परिवर्तन अनुकूलन” कार्यक्रम अन्तर्गत सम्पन्न तालिममा कृषि अधिकृत शशांक आचार्य तथा कृषि प्राविधिक धनकुमारी चौधरीले सहजीकरण गरेका थिए। तालिममा सहभागी किसानहरूलाई बदलिँदो जलवायु परिवेशमा कृषि प्रणालीलाई कसरी अनुकूल बनाउने र उत्पादनमा वृद्धि ल्याउने भन्ने विषयमा व्यवहारिक जानकारी तथा प्रशिक्षण प्रदान गरिएको थियो। तालिममा खनजोत मैत्री, सिँचाइ मैत्री, मलखाद मैत्री, लागत मैत्री कृषि प्रविधिहरूका साथै एकीकृत शत्रुजीव व्यवस्थापन (IPM) सम्बन्धी समेत जानकारी दिइएको थियो। तालिम पश्चात सहभागी किसानहरूलाई सामूहिक प्रयोगका लागि २ थान मकै रोप्ने हाते मेसिन समेत वितरण गरिएको छ।
वि.सं. २०४१ मा इलामको नामसालिङ गाउँमा स्थापना भएको “नामसालिङ सामुदायिक विकास केन्द्र” ले वि.सं. २०७४ देखि दाङको राप्ती गाउँपालिकामा विभिन्न सामुदायिक विकास कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कृषि, पोषण, आयआर्जन, जलवायु परिवर्तन अनुकूलन तथा सुशासनका क्षेत्रमा एकीकृत कार्यक्रम कार्यान्वयन गरिँदै आएको संस्थाले समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउँदै जलवायु अनुकूलन अभ्यासमा अग्रसर गरिरहेको कृषि अधिकृत तथा दाङ कार्यक्रम संयोजक शशांक आचार्यले जानकारी दिए। स्थानीय कृषकहरूले तालिम अत्यन्त उपयोगी रहेको प्रतिक्रिया जनाएका छन्। उनीहरूका अनुसार सिकाइको प्रयोगद्वारा उत्पादन वृद्धि तथा वातावरणमैत्री कृषि अभ्यासमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।