दाङमा ३ दिने अदालती पत्रकारिता तालिम सुरु



दाङमा ३ दिने अदालती पत्रकारिता तालिम सुरु

दाङ २८ फागुन । नेपाल पत्रकार महासंघ दाङको आयोजनामा ३ दिने अदालती पत्रकारिता तालिम घोराहीमा सुरु भएको छ ।

पत्रकारलाई अदालती रिपोर्टिङ गर्दा कानुनी शब्दावलीको प्रयोग, अदालती आदेश, फैसला लगायत विविध कानूनी प्रकृयाका विषयमा जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको हो । सोअवसरमा जिल्ला न्यायाधिवक्ता योगेन्द्र प्रसाद ढुंगेलले अदालती फैसला, आदेश, थुनछेक बहस, मुद्दाको प्रकृति, क्षेत्राधिकार लगायतका विषयमा जानकारी दिएका छन् । त्यसै गरी जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक प्रकाश रोकायाले प्रहरीमा दिइने जाहेरी, ठाडो उजुरी,  थुनुवा कक्ष, गोपनीयता लगायतका विषयमा जानकारी दिएका थिए भने नेपाल पत्रकार महासंघका केन्द्रिय पूर्व अध्यक्ष विपुल पोख्रेलले अदालती पत्रकारिताको परिचय, रिपोर्टिङ गर्दा ध्यान दिनुपने कुरा लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता एवम् घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा भएको उद्‌घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोख्रेल, वर्तमान केन्द्रिय सचिव सविन प्रियासन, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, लुम्बिनी प्रदेशका महासचिव पाण्डव शर्मा, महासंघका पूर्व अध्यक्ष सुदीप गौतम, केबी मसाल, दुर्गालाल केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नेपाल पत्रकार महासंघका उपाध्यक्ष ओपेन्द्र बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव जेएन सागरले गरेका थिए ।  चैत्र १ गतेसम्म सञ्चालन हुने तालिममा दाङमा क्रियाशील ३० जना पत्रकारहरूको सहभागिता रहेको छ  ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे