राप्तीमा साइकल दौड प्रतियोगिता : पुरूष तर्फ सागर चाैधरी र महिला तर्फ एन्जिला चाैधरी प्रथम



राप्तीमा साइकल दौड प्रतियोगिता : पुरूष तर्फ सागर चाैधरी र महिला तर्फ एन्जिला चाैधरी प्रथम

भालुवाङ २८ फागुन । दाङको राप्ती गाउँपालिकाले आफ्नो नवौं स्थापना दिवसको अवसरमा बुधबार साइकल दौड प्रतियोगिता सम्पन्न गरेको छ।

“प्रकृतिसँगै दौडौँ, पर्यापर्यटन बढाएर विकासमा जुटौं” भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको हाे। पालिकाकाे वडा नं. ६ मझेरियादेखि वडा नं. ३ बसन्तापुरसम्म करिब ८ किलोमिटर दुरीमा प्रतियोगिता सञ्चालन गरिएको थियो । उक्त प्रतियोगितामा पुरुषतर्फ वडा नम्बर ३ का सागर चाैधरी प्रथम,वडा नम्बर ३ कै बिक्रम चाैधरी द्वितीय र वडा नम्बर २ का वीर बहादुर कुमाल तृतीय भएका छन् । भने महिलातर्फ वडा नम्बर ५ की एन्जिला चाैधरी प्रथम ,वडा नम्बर ७ की पुष्पा चाैधरी द्वितीय र वडा नम्बर ६ की प्रमिला चाैधरी तृतीय भएका छन्। विजेताहरूलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार ५ सय नगद पुरस्कारसहित प्रमाणपत्र फागुन २९ गते औपचारी कार्यक्रमका बीच प्रदान गरिने बताइएको छ। प्रतियोगितामा १६ महिलासहित ७२ जना प्रतिस्पर्धी सहभागी भएका थिए।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीय खेलकुद गतिविधिहरू प्रवर्द्धन गर्दै पर्यटन र विकासलाई अघि बढाउने लक्ष्य रहेको बताएका छन् । त्यस्तै उनले साइकल दौड जस्ता कार्यक्रमले पर्यावरण संरक्षण, स्वास्थ्य सुधार र स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय साइकल चढ्ने बानी हराउँदै गएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले पुनः प्रवर्द्धन गर्न मद्दत गर्ने विचार व्यक्त गरे। साथै, साइकल प्रयोगले स्वास्थ्यलाई फाईदा पुग्नुका साथै वातावरण संरक्षण पनि हुने भएकाले यसको प्रवर्द्धन आवश्यक रहेको बताए। गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले साइकल यात्रा शारीरिक र आर्थिक रूपमा लाभदायक हुने बताइन् । प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले पछिल्लो समय बिलासीपन बढ्दै गएकाले यस्ता प्रतियोगिताले त्यसलाई न्यूनीकरण गर्न मद्दत गर्ने धारणा राखे।

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष,अन्य जनप्रतिनिधि, कर्मचारी, प्रहरी, स्काउट, शिक्षकहरु लगायत स्थानीयहरूको उल्लेख्य उपस्थिति रहेको थियो। यसै बीच, बुधबार नै बीपी आधारभूत विद्यालय बसन्तापुर परिसरमा विभिन्न फलफूलका विरुवा रोपण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे