कुसुण्डा समुदायको समस्या प्रति मानव अधिकार आयोगको चाँसो
देउखुरी ३० मंसिर । कुसुण्डा समुदायको अधिकार प्रति मानव अधिकार आयोगले चाँसो दिएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले शनिवार दाङको लमहीमा एक कार्यक्रमको आयोजना गरि कुसुण्डा समुदायका नागरिकहरु मानव अधिकारबाट बञ्चित भए नभएको अवस्था र उनीहरुको मुख्य समस्या प्रति ध्यानाकर्षण गरेको हो । कुसुण्डा समुदायको मानव अधिकारको अवस्था बुझ्न एकै थलोमा जम्मा भएका आयोग र सरकारका अधिकारीहरुसंग कुसुण्डा समुदायको समस्या पहिचान गरि समाधानकालागि नेपाल सरकार समक्ष पैरवी गर्ने बताइएको छ ।
हाम्रा पुर्खाहरु वनमा बस्थे, शिकार र कन्दमूल खाएरै बाँच्थे, रुखका बोक्रा लगाएरै शरिर ढाक्थे । राउटे र कुसुण्डा विच राजा र रैतीको सम्वन्ध थियो । अहिले हामी विस्तारै समुदायसंग बस्न थालेका छौं, कैयन परिवारका घरवास नै छैनन् न त घडेरी र जग्गा नै छन्–मानव अधिकार आयोगले सरकारसंग भन्दिनु पर्यो । हामी एकै थलोमा मिलेर बसी संस्कार र संस्कृति जोगाउन चाहान्छौं–कुसुण्डा बिकास समितिका अध्यक्ष धनबहादुर कुसुण्डाले भने । म धन नभएको धनबहादुरले स्थानीय र प्रदेश सरकारमा धेरैपटक कुरा राखे तर सरकारबाट सुनुवाई भएन ।
हामीले बसोवास गरेका र कतिपयले जोतभोग गरेका जग्गाहरुको लालपूर्जा चाहियो । नेपालका सातवटै जिल्लामा रहेका कुसुण्डा समुदायलाई एकैथलोमा बस्तीको ब्यवस्थापन गर्दिनु पर्यो–उनले सरकार र मानव अधिकारका अधिकारीहरुसंग माग राखे । स्थानीय सरकारहरुले पनि हाम्रा समस्या सुनुवाई गर्दैनन्, न त प्रदेश र केन्द्रले नै सुन्छ । हामीलाई सिपमुलक तालिम र जिविकोपार्जन गर्न रोजगार चाहियो, भाषा, संस्कृति लोप हुन थाल्यो, जोगाईदिनु परयो । औषधी उपचार र शिक्षामा पनि हामी कुसुण्डा जातिलाई निःशुल्कको ब्यवस्था हुनु पर्यो–कार्यक्रममा आउनुभएकी हिमा कुसुण्डाले गुनासो गरेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग र सोसीक नेपालको संयुक्त आयोजनामा दाङको लमहीमा ७६ औं विश्व मानवअधिकार दिवस तथा १६ औं मानवअधिकार राष्ट्रिय महाभेला कार्यक्रम अन्तर्गत नेपालभरका कुसुण्डा समुदायको मानव अधिकारको अवस्था पहिचान गरि नेपाल सरकारलाई बुझाउने कार्यक्रम रहेको आयोगका लुम्बिनी प्रदेश कार्यालय प्रमुख हरि प्रसाद ज्ञवालीले जानकारी दिए । देशका सातवटै जिल्लाहरुमा छरिएर रहेका कुसुण्डा समुदायका नागरिकहरुको समस्या र मानव अधिकारका सवालहरु पहिचान गरि मानव अधिकारको संरक्षण र प्रभावकारी कार्यान्वयनमा जोड दिने उद्देश्य अनुरुप उनिहरुका समस्याहरुको बिस्तृत अध्ययनगरि नेपाल सरकारलाई प्रतिवेदन बुझाई ध्यानाकर्षण गराउने आयोगको लक्ष्य रहेको उनले बताए ।
नेपालको संबिधान २०७२ अनुसार शिक्षा, स्वास्थ्य, रोजगार, आवास र संस्कृतिको संरक्षण लगायतका सवालहरुमा देशभरका कुसुण्डा समुदायको आवाज सरकार समक्ष पुर्याउने आयोगको अभियान रहेको सोसिक नेपालका हिरासिंह थापाले जानकारी दिए । नेपालभरका कुसुण्डा समुदायको भाषा, संस्कृति र कलाको संरक्षण र उन्नयनमा भाषा आयोग र बिभिन्न निकायहरुसंग समन्वय सहकार्य गर्दै खटिएका अध्ययनकर्ता उदयराज आलेका अनुसार नेपालका सात जिल्लाहरुमा कुसुण्डा समुदायको बसोवास रहेको र उनीहरुलाई एकिकृत वस्ती ब्यवस्थापनको जरुरी रहेको बताए । उनका अनुसार गोर्खामा १० जना, तनहुँमा २ जना, कपिलबस्तुमा ७ जना, दाङमा ७१ जना, रोल्पामा ३, सुर्खेतमा १८ र प्यूठानमा ५१ गरि कुसुण्डा समुदायका बारेमा हालसम्म गरिएको स्थलगत अध्ययन अनुसार १६२ जनसंख्या रहेको छ । दाङ जिल्लाका घोराही उपमहानगरमा २७ जना, तुलसीपुर उपमहानगरमा १२ जना, गढवामा १० जना र राजपुरमा २२ गरि ७१ जना कुसुण्डाहरुको जनसंख्या दाङमा मात्र रहेको र अर्घाखाँचीमा रहेका कुसुण्डाहरु भारतको भोपाल प्रान्तमा रोजगारको शिलशिलामा बसोवास गरेको उनले बताए ।
राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनीका कार्यालय प्रमुख हरि प्रसाद ज्ञवालीको अध्यक्षता र लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेको प्रमुख आतिथ्यमा कुसुण्डा समुदायको मानव अधिकारको अवस्था बिषयक कार्यशाला आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले लोपोन्मुख अवस्थामा रहेका कुसुण्डा समुदायको भाषा, संस्कृतीको संरक्षण, रोजगार प्रवर्धन र एकिकृत वस्ती ब्यवस्थापनमा लुम्बिनी प्रदेश सरकारले पहल गर्ने बताए । कार्यक्रममा तुलसीपुर उपमहानगर पालिकाका प्रमुख टिकाराम खड्काले एकिकृत वस्ति ब्यवस्थापन नहुँदा सम्म कुसुण्डा जातिको अधिकार र पहिचान स्थापित हुन नसक्ने बताए । आफ्नो नगरपालिकाभित्र रहेका कुसुण्डा समुदायको हकमा निःशुल्क पठन–पाठन र रोजगार प्रवर्धनका कार्यहरु गरि उनिहरुलाई आयआर्जन र जिविकोपार्जनमा जोड्ने प्रमुख खड्काले बताए ।
कार्यक्रममा सरुमारानी गाउँपालिका प्यूठानका अध्यक्ष झगबहादुर बिश्वकर्मा, उपाध्यक्ष बसन्ता खड्का, राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादव, मुक्त कम्लरी बिकास मञ्चका उपाध्यक्ष निर्मला चौधरी, मानवअधिकारकर्मी बिनोद केसी, अनुसन्धान कर्ता तथा लेखक उदयराज आले र कुसुण्डा बिकास समुदायका अध्यक्ष धनबहादुर कुसुण्डा लगायतले बोलेका थिए । हिरासिंह थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यशालाको सहजीकरण शोसिक नेपालका द्रोण जिसीले गरेका थिए ।