प्रधानाध्यापक गुप्ताको पहिलो उदाहरणीय कार्य : सर्वोदय मावि सिसहनियाँमा राहतकोष स्थापना



प्रधानाध्यापक गुप्ताको पहिलो उदाहरणीय कार्य : सर्वोदय मावि सिसहनियाँमा राहतकोष स्थापना

सिसहनियाँ ४ पुस । दाङको राप्ती गाउँपालिका- ५, सिसहनियामा रहेको सर्वोदय माध्यमिक विद्यालयले राहत कोष स्थापना गरेको छ ।

विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न विद्यार्थी तथा अभिभावकहरूलाई कमजोर आर्थिक अवस्थाका कारण बिरामी वा दुर्घटना भएको अवस्थामा उपचार गर्न समस्या भएको अवस्थामा विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूबाट विद्यार्थी राहत कोषमा स्वैच्छिक रुपमा रकम जम्मा गरी सहयोग गर्ने भएको छ ।

विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूद्वारा आफ्नो जन्मदिनको उपलक्ष्यमा तथा स्वेच्छा अनुसार आर्थिक सहयोग संकलन गरी त्यस्ता विद्यार्थी तथा अभिभावकहरूको उपचारको लागि रकम सहयोग गर्ने कार्यक्रम सञ्चालन भएको विद्यालयका प्रधानाध्यापक विनोद कुमार गुप्ताले जानकारी दिएका छन् ।

यसै क्रममा बिहीवार प्राविधिकधार कृषि बाली विज्ञानको कक्षा १० मा अध्ययनरत विद्यार्थी सुदन बोटेको आमालाई डेंगु संक्रमण भई अस्पतालमा भर्ना हुँदा उपचारमा लाग्ने खर्चलाई सहयोग गर्नका लागि उठाइएको रकम नगद २० हजार ७ सय ५५ रुपैंया मध्ये १० हजार रुपैंया विद्यालयका प्रधानाध्यापक गुप्ताले विद्यार्थी सुदन बोटेलाई हस्तान्तरण गरेका छन् । विद्यालयको नेतृत्वमा प्रधानाध्यापक गुप्ता प्रधानाध्यापकको रुपमा जिम्मेवारी प्राप्त गरेपछि विद्यालयलाई राप्ती गाउँपालिकाकै उत्कृष्ट विद्यालय बनाउने योजना मध्येको पहिलो अभियानको रूपमा राहत कोष स्थापना गरिएको छ ।

विद्यालयले दिएको जानकारी अनुसार यो अभियानलाई निरन्तर जारी राख्दै यस्तो अभियानलाई सहयोग गर्न इच्छुक विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायत सरोकारवाला सम्पूर्ण सहयोगीहरुलाई विद्यालयले निमन्त्रणा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे