हात्तीपाइले रोगको अवस्थाबारे जानकारी लिन राप्तीको ६ वटा वडामा सर्वेक्षण हुँदै



हात्तीपाइले रोगको अवस्थाबारे जानकारी लिन राप्तीको ६ वटा वडामा सर्वेक्षण हुँदै

भालुवाङ १६ मंसिर । हात्तीपाइले रोगको अवस्थाबारे जानकारी लिन दाङको राप्ती गाउँपालिकाको ६ वटा वडामा सर्वेक्षण गर्न लागिएको छ । पालिकाको वडा नम्बर १, २, ४, ५, ७ र ८ मा गरी ६ वटा वडामा यस प्रकारको सर्वेक्षण गर्न लागिएको स्वास्थ्य कार्यालय दाङका भक्टोर कन्ट्रोल निरिक्षक कमल चन्दले जानकारी दिएका छन् ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडा मकवानपुर तथा स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत आइतवार राप्ती गाउँपालिका वडा नम्बर २ स्तरीय अभिमुखीकरण कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् ।

सर्वेक्षण हुने वडाहरुमा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, प्रहरी र पत्रकार सहितलाई अभिमुखिकरण गोष्ठी दिइएको छ । अन्तर्राष्ट्रिय विकास संघद्वारा एकीकृत नक्शांकन र रोग प्रतिरोधात्मक व्यवस्थापन अभियान उपकरण अन्तर्गत कार्यक्रम गर्न लागेको बताईएको छ । हात्तीपाइले रोग निवारणका लागि विशेष रूपमा डिजाइन गरिएको छ । जसले रोगको प्रभाव मापन, रोकथाम, र व्यवस्थापनका लागि सहायता पु¥याउँछ ।

हात्तीपाइले रोग विरुद्धको औषधी सेवन अभियान सफल भए नभएको तथ्याङ्क संकलन गर्न र हात्तीपाइले रोगको एकिन डाटा संकलन गर्न सर्वे गर्न लागिएको चन्दले जानकारी दिएका छन् । लगातार अभियान सञ्चालन गरी हात्तीपाइलेको औषधी खुवाइएपछि यसको संक्रमण दर घटेको वा बढेको हो, त्यसको आकडा पत्ता लगाउनका लागि सर्वेक्षण कार्य गर्न लागेको चन्दले बताए । प्रत्येक वडामा १ सय ५ जनाको रगत परीक्षण गरिने र परीक्षणबाट हात्तीपाइलेको अवस्थाबारे जानकारी लिन सहज हुने र त्यसै अनुसार अगाडि बढ्ने तुलसीपुर प्रादेशिक अस्पतालका ल्याब टेक्निसियन देवीलाल डाँगीले बताए ।

परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली परिचालन हुने छ । परीक्षण दिउँसो गरिने र पोजेटिभ देखिएमा पुनः रातीको समयमा रगत लिएर परीक्षण गरिने उनको भनाइ छ । मानिस सक्रिय हुँदा लिइने रगतमा हात्तीपाइलेको किटाणु नदेखिने समेत उनको भनाइ रहेको छ । यसैले रातीको १० देखि २ बजेसम्ममा पुनः रगत लिइने छ । दिउँसो घाम भएको समयमा रगत लिँदा किटाणु रगतमा नदेखिने समेत डाँगीले बताए । दाङका १० वटा पालिकाबाट छनौटमा परेका ६० वटा वडामा यस वर्ष सर्वेक्षण गर्न लागिएको छ । दाङमा विगत १३ वर्ष सम्म लगातार हात्तीपाइले रोगको औषधी खुवाइएको छ ।

कार्यवाहक वडा अध्यक्ष टेकबहादुर रावतको अध्यक्षतामा भएको अभिमुखीकरण गोष्ठीमा स्वास्थ्य कार्यालय दाङका भक्टोर कन्ट्रोल निरिक्षक कमल चन्द, तुलसीपुर प्रादेशिक अस्पतालका ल्याब टेक्निसियन देवीलाल डाँगी, राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउत, वडा सचिव सिता भण्डारी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वम्सेविका, प्रहरी लगायतको उपस्थिीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे