बाँसबाट जीवन बदल्ने सपना बोकेका करङ्गेकोटबासी



बाँसबाट जीवन बदल्ने सपना बोकेका करङ्गेकोटबासी

भालुवाङ २१ असार । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ करङ्गेकोटकी अनिष्मा ओली आजकाल बाँस काट्ने, छिल्ने र विभिन्न किसिमका सामाग्री बनाउने कार्यमा व्यस्त छिन् ।

केही दिन पहिले सम्म घाँस, दाउरा काट्ने र गाई बाख्राको गोठालो जादैमा दिन बिताउने उनी अहिले राप्ती गाउँपालिकाले उद्यमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाहरुलाई बाँसबाट फर्निचर बनाउने सीप विकास तालिम प्रदान गरेपछि उनको दिनचर्या नै बदलिएको हो ।
उनले तालिम पश्चात् सिकेको सीपलाई सदुपयोग गरि आत्मनिर्भर बन्ने बताइन् । सीप भयो भने आफ्नै ठाउँमा भएको बाँसबाट पनि आम्दानी गर्न सकिदो रहेछ सोही तालिमका अर्का सहभागी बोम बहादुर थापाले खुसी व्यक्त गर्दै भने–“हामी जस्ता बेरोजगार युवाहरूले अब सीप सिकेर गाउँघरमै व्यवसाय गर्ने सोच बनाएका छौं । “

त्यस्तै उनले तालिमबाट धेरै कुराहरु सिक्ने अवसर मिलेकाले तालिम पश्चात् व्यवसायीक रुपमा सामूहिक उत्पादन सुरु गर्ने बताए । बजारमा अहिले माग भएका सामानहरू बनाउने भएकाले पनि व्यवसायीक रूपमा आफूहरू सफल हुने विश्वास थापाको छ । ओली र थापा मात्रै होइन अहिले त्यस ठाउँका १५ जना युवा तथा महिलाहरुले सो तालिम लिई सामूहिक रुपमा व्यवसायीक बाँसको सामाग्री उत्पादनको तयारी गरेका छन् । त्यसको लागि उनीहरूले रम्तेल श्रमिक सहकारी संस्था स्थापनाको तयारी समेत थालेका छन् ।

गाउँघरमा प्रशस्त पाइने बाँसबाट सामाग्री बनाउने सीप पाएपछि सहभागीहरु खुशी भएका छन् । तालिमका क्रममा उनीहरूलाई मुढा, कुर्सी, टेबुल लगायतका विभिन्न सामान बनाउन सिकाइएको प्रशिक्षक रामकुमार राईले जानकारी दिए । उनले सहभागीहरूमा सिक्ने उत्सुकता भएका कारण तालिम फलदायी भएको पनि बताए । ‘राम्रोसँग बनाउन सकियो भने एकजनाले दैनिक २÷३ हजारसम्म आम्दानी गर्न सकिन्छ’ प्रशिक्षक राईले भने । बाँसका सामग्रीको व्यवसाय समेत गर्दै आउनु भएका राईले पछिल्लो समय यस्ता वस्तुको माग बढेर गएको पनि बताए ।

स्थानीय रूपमा पाइने वस्तुबाट विभिन्न सामग्री बनाउँदा एकातिर आत्मनिर्भर हुने र अर्कातिर परम्परागत सीपको पनि संरक्षण हुने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए । त्यस्तै अध्यक्ष विष्टले सीप र प्रविधिको अभावका कारण खेर गइरहेका बाँसको सदुपयोग बाट निम्न आर्थिक आय भएका नागरिकहरुको जीवन स्तर बदलिने विश्वास व्यक्त गरे । यस वर्ष गाउँपालिका मार्फत एक दर्जन बढी विभिन्न सीप विकास तालिम सञ्चालन गरिएको छ । सञ्चालन भएका तालिमका सहभागीहरूलाई व्यवसाय सञ्चालनका लागि पालिकाले प्राविधिक सहयोगसमेत गरिएको अध्यक्ष विष्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे