राप्ती र गढवाको करार खेती कार्यविधि निमार्ण, करार खेतीले भुमिहिनहरु उत्साहित



राप्ती र गढवाको करार खेती कार्यविधि निमार्ण, करार खेतीले भुमिहिनहरु उत्साहित

भालुवाङ ६ जेठ । दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले करार खेती कार्यविधि निमार्ण गरी काम सुरु गरेका छन् ।

स्थानीय सरकारले भूमिहीन किसानलाई लक्षित गरेर सञ्चालन गरेको करार खेतीले मुक्तकमैया, कम्लहरी, भुमिहिन, सुकुम्बासीहरुलाई उत्साह थपेको छ । ्
राप्ती गाउँपालिका–६ बगरापुर निवासी देउकुमारी चौधरी अर्काको घरमा धेरै वर्ष कमैया–कम्लरी बसिन् । जसले गर्दा खेती गर्ने जग्गा उनको नाममा भएन । मुस्किलले घरबास मात्रै रहेकी देउकुमारीलाई अर्काको जग्गा जोतेर भए पनि घर खर्च चलाउनुपर्ने बाध्यता थियो । अधिया–बटैयामा समेत खेती लगाएकी देउकुमारीको कृषि कर्म यसैगरी चल्दै गयो । आम्दानीको स्रोत अरु छैन । छोरीको पढाइ खर्च र दैनिक घर खर्च जुटाउन मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएकी देउकुमारी अहिले करार खेतीमा जोडिएकी छिन् ।

राप्ती गाउँपालिकाले भूमिहीन किसानलाई लक्षित गरेर सञ्चालन गरेको करार खेतीमार्फत दश कट्ठा जग्गा लिजमा लिएर तरकारी खेती गर्दै आएकी देउकुमारीलाई हौसला थपिएको छ । गाउँपालिकाले जग्गाको लिज भाडा तिरिदिने भएपछि उनलाई सजिलो भएको छ । यसपालि पनि लिजको आधा रकम पालिकाले तिरिदिने भएको छ । बोडी, भिन्डी, भान्टा, काउली, बन्दा, काँक्रा लगायतका तरकारी खेती गर्दै आएकी देउकुमारीलाई कृषि पेशा नै प्यारो लाग्छ । जस्तोसुकै कठिन परिस्थितिमा पनि खेतीपातीलाई अघि बढाउँदै आएकी छिन् । राप्ती गाउँपालिकाले गत वर्ष देखि करार खेती कार्यविधि निर्माण गरेर भूमिहीन किसानलाई लक्षित गरेर करार खेती कार्यक्रम अघि बढाएको हो । २०७९ माघ महिनाबाट कार्यक्रम सञ्चालन गरिएको थियो । उति बेला १९ जना किसानको निवेदन संकलन गरिएको थियो । जसमध्ये १२ जना किसान तथा फर्मलाई छनोट गरी करार खेतीको लागि सम्झौता भएको थियो ।

१० विगाह जग्गामा करारखेतीका लागि किसानसँग सम्झौता गरिएको र पहिलो वर्ष शतप्रतिशत जग्गाको लिज रकम गाउँपालिकाले भुक्तानी गरेको र यस वर्ष आधा रकम भुक्तानी गरिने कृषि शाखामा कार्यरत कर्मचारी निर्मला गिरीले बताइन् । ‘करार खेती कार्यक्रमको कार्यविधि बनाएर कार्यान्वयनमा गएका छौं । अझै कार्यविधिलाई समयानकुल बनाउन जरुरी छ’– उनले भनिन्– ‘लक्षितवर्गको सहभागिता अझ बढाउनेगरी कार्यविधि संशोधन गर्न पनि छलफल भइरहेको छ ।’
करारखेती कार्यविधि बनाएर गढवा गाउँपालिकाले पनि विपन्न, सीमान्तकृत तथा भूमिहीन किसानलाई सहयोग गर्न थालेको छ । यसपालि गढवाका ९ जना किसान र एक समूहलाई करार खेतीको लागि सहयोग गरेकोे छ । साढे ७ विगाह जग्गामा किसानले करार खेती गरेका हुन् ।

यता करार खेतीका लागि लमही नगरपालिका र राजपुर गाउँपालिकाले कार्यविधि बनाउने भएका छन् । कार्यविधि निर्माण गरेर कार्यान्वयनमा गएका राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले लाभग्राहीको सहभागिता बढाउने गरी कार्यविधि संशोधन गर्ने योजना बनाएका हुन् । बटैया, करार खेती र जग्गा उपयोग सम्बन्धी अन्त क्र्रिया कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी र राजपुर गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले करार खेती सञ्चालन गर्न कार्यविधि निर्माण गर्ने प्रतिबद्धता जनाए । लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले करार खेतीसम्बन्धी कार्यविधि बनाएर भूमिहीन किसानलाई आधुनिक खेती प्रविधिमा जोड्ने र खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूति गराउने प्रतिबद्धता जनाइन् ।

यस्तै राजपुर गाउँपालिकाले पालिकाभित्र बाँझो जग्गाको एकिन विवरण संकलन गर्ने पनि जनाएको छ । आत्मनिर्भर सेवा केन्द्रले विभिन्न दातृ निकायसँगको सहकार्यमा अनुकूलित तथा उत्थानशील कार्यमार्फत दिगो कृषि र आवाससम्बन्धी परियोजना सञ्चालन गरेको छ । जिल्लाका चार स्थानीय तहमा यो परियोजनाले गत असार महिनादेखि कार्यक्रम कार्यान्वयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे