यस बर्ष स्थानीय सरकार आफै नदीजन्य पदार्थ उत्खनन् गर्दै, चुरेक्षेत्रका नदी तथा खोलामा ठुला मेसिनकाे प्रयाेग



यस बर्ष स्थानीय सरकार आफै नदीजन्य पदार्थ उत्खनन् गर्दै, चुरेक्षेत्रका नदी तथा खोलामा ठुला मेसिनकाे प्रयाेग

देउखुरी ३० बैशाख । यस बर्ष स्थानीय सरकार आफै नदीजन्य पदार्थ उत्खनन् गर्न शुरु गरेकाे छ । स्थानीय तहले आन्तरिक स्रोत बढाउन ढुंगा, गिट्टी, बालुवालाई प्रमुख आधार बनाउँदा नदी तथा खोलाहरुमा अहिले अस्वाभाविक उत्खनन् बढेको छ । ठूला मेसिन औजारको प्रयोग गरेर भइरहेको ढुंगा, गिट्टी, बालुवाको उत्खनन्मा स्थानीय सरकार जोडिएका छन् । पानीको प्रमुख स्रोत रहेको राप्ती नदीमा ढुंगाजन्य बस्तुको उत्खनन् बढ्दै जाँदा सिंचाई आयोजनामा पानीको स्रोत नपुग्ने गरेकाे किसानहरुले बताएका छन् ।

दाङ-देउखुरीको राप्ती गाउँपालिका, गढवा गाउँपालिका, लमही नगरपालिका र राजपुर गाउँपालिकाले नदीजन्य पदार्थलाई राजश्व संकलनको प्रमुख माध्यम बनाउँदा नदी तथा खोलामाथिको दोहन बढ्दै गएको स्थानीयको भनाई छ । राप्ती नदीको पानीमा आधारित ठूला सिंचाई आयोजना सञ्चालित छन् तर ती सिंचाई आयोजना जोखिममा पर्ने गरी उत्खनन् हुँदै आएको छ ।

स्थानीय तहले कानुनी प्रक्रिया पूरा गरेर ठेक्का लगाउँदा पनि नदीमाथिको दोहन घट्नुको सट्टा बढ्दै गएको छ । राप्ती सामुदायिक वन उपभोक्ता समूहले राष्ट्रपति चुरे तराई मधेश कार्यक्रमलाई पत्र लेखेर सिंचाई आयोजनाको मुहानहरुमा असर पर्ने गरी उत्खनन् बढिरहेको भन्दै ध्यानाकर्षण गराएको छ । वन समूहका अध्यक्ष कर्णबहादुर केसीले पत्र लेख्दै अर्घाखाँचीको शीतगंगा नगरपालिकाको हात्तीढुंगा, गढवा गाउँपालिकाको टहाडा तथा धोद्रे खोलामा अनाधिकृत उत्खनन् भइरहेको उल्लेख गरेका छन् ।

डम्पिङ गर्दै स्थानीय सरकार :

हरेक वर्ष वैशाखको अन्तिम र जेठको पहिलो हप्तादेखि राप्तीमा ठूला मेसिन औजारको प्रयोग गरेर ढुंगा, गिट्टी, बालुवा उत्खनन् हँुदै आएको छ । गत वर्ष नदीजन्य पदार्थको उत्खननमा देखिएको जस्तो विकृति यसपालि रोक्न स्थानीय तह आफैले नदीजन्य पदार्थको उत्खनन् आफै गर्ने, नदी र खोलामा ठेकेदार पस्न नदिने नीति अवलम्बन गरे । राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले आफै उत्खनन् गरेर डम्पिङ शुरु गरेका छन् ।

गढवा गाउँपालिकाले वडा नं. ८ बाहेक सबै वडामा नदीजन्य पदार्थ उत्खनन्को काम अघि बढाएको छ । वडा नं. १, २, ३, ४, ५, ६, ७ मा दुई लाख ७२ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्ने गरी काम अघि बढेको गाउँपालिकाले जनाएको छ । ‘स्वीकृत मात्रामा नदीजन्य पदार्थ उत्खनन् गर्ने, घाटगद्दी गर्ने, त्यो परिमाणलाई स्टक कायम गरेर ठेक्का लगाइन्छ’ ।

गाउँपालिकाका इञ्जिनियर शेषमणि पौडेलले भने– ‘मापदण्डअनुसार उत्खनन्को काम भइरहेको छ । यसअघि ठेकेदारहरु खोलामा पस्दा जथाभावी भयो भन्ने सुनिएपछि यसपालि पालिका आफैले यो कामलाई अघि बढाएको हो ।’ नौ करोड ७० लाख राजश्व संकलन हुने लक्ष्य छ । राप्ती गाउँपालिकाले पनि दुई स्थानबाट आफै नदीजन्य पदार्थ उत्खनन् गरेर डम्पिङ गर्ने काम गरिरहेको छ । ५३ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्ने स्वीकृत भएअनुसार काम अघि बढेको गाउँपालिकाका इञ्जिनियर अशोक बेलवासेले बताए ।

यता शीतगंगा नगरपालिकाले वडा नं. ८ को लाहापे घाटमा राप्ती नदीमा ठेक्का लगाएको छ । वर्षदिनको लागि चाहिने नदीजन्य पदार्थ एकै महिना भित्र उत्खनन् गरेर सञ्चय गर्न खोज्दा समस्या परेको देखिन्छ । मापदण्ड विपरीत स्काभेटर, जेसिवीको प्रयोग गरेर अन्धाधुन्ध उत्खनन् गरिरहेको छ । शीतगंगाले उत्खनन् गरिएको नदीजन्य पदार्थ क्रसर उद्योगमा डम्पिङ गरेको छ । १० महिना केही काम नहुने तर दुई महिनामा सबै आयोजनाको लागि चाहिने नदीजन्य पदार्थ उत्खनन् गर्न ठूला मेसिन औजारको प्रयोग बढ्दै जाँदा नदीमाथिको दोहन पनि बढ्दै गएको स्थानीयको भनाई छ ।

स्टक चोरिएपछि क्रसर उद्योगलाई जरिवाना :

यता गढवा गाउँपालिकाले स्टक गरेको गिट्टी, बालुवा चोरी भएको छ । मध्यपश्चिम क्रसर उद्योगनजिक थुपारिएको गिट्टी, बालुवा चोरी भएपछि क्रसर उद्योगलाई जरिवाना गरिएको छ । क्रसर उद्योगले गाउँपालिकाले डम्पिङ गरेको गिट्टी, बालुवा क्रसर उद्योगमा पु¥याएको पाइएपछि जरिवाना गरिएको छ । वैशाख १४ गते चार सय ९४ घनमिटर चोरी भएको थियो ।

६ लाख ७९ हजार रुपैयाँ जरिवाना गरिएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले जानकारी दिए । ‘सधैं विवादमा आइरहने नदीजन्य पदार्थको उत्खनन्लाई व्यवस्थित गर्न पालिकाले नै उत्खनन् गर्ने भनियो । त्यसअनुसार काम अघि बढेको छ’– उनले भने– ‘यस क्रममा केही चोरीका घटना पनि भए । हामीले पत्ता लगाएर जरिवाना समेत गर्याे ।’

ट्रयाक्टरलाई पनि काम दिनुपर्ने माग राख्दै अवरोध :

यस्तै यता गढवा गाउँपालिका–१ धोद्रेका स्थानीयले शुक्रबार बिहानदेखि टिप्पर सञ्चालनमा रोक लगाए । राप्ती नदीबाट उत्खनन् गरिएको गिट्टी, बालुवा डम्पिङका लागि बस्ती छेउको खाली जग्गा रोजियो तर स्थानीयले त्यहाँ थुपार्न दिएनन् । सधैं धुलो, माटो खाएर बस्नु परेको भन्दै आफुहरुका ट्रयाक्टर र गाउँका खाली व्यक्तिले काम पाउनुपर्ने माग राख्दै अवरोध गरिएको छ ।

‘खोलानालाको स्रोतमाथि स्थानीयको पनि अधिकार छ । यहाँ काम नपाएर झोला बोकेर भौंतारिनु परेको छ । खोला खुल्दा यहाँका स्थानीयले काम पाउनुपर्ने, ट्रयाक्टरले पनि काम पाउनुपर्ने तर त्यसो भएन’– स्थानीय अनिता पाण्डेले भनिन्– ‘धुलो माटो खाएर बस्ने हामी, अनि हामीले नै काम नपाउने । हाम्रो समस्या पनि सुनियोस् ।’

लमहीका दुई स्थानमा ठेक्का :

लमही नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन्का लागि दुई स्थानमा ठेक्का लगाएको छ । आईइइ भएका स्थानमा ठेक्का आह्वान गरे पनि दुई स्थानमा मात्रै ठेक्का लागेको नगरपालिकाका प्रवक्ता तथा वडा नं. ७ का अध्यक्ष मोहन गिरीले जानकारी दिए ।

उनका अनुसार वडा नं. ७ को हस्नापुरघाट र वडा नं. ८ को गिधनियाघाटमा मात्रै ठेक्का लागेको छ । दुई पटकसम्म पनि ठेक्का निकाल्दा ठेक्का नपरेको खण्डमा अमानतमा काम गराउन सक्ने प्रावधान रहे पनि त्यसबारेमा अझैं निर्णय नभएको प्रवक्ता गिरीले जानकारी दिए ।

-नयाँ युगबाेधबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे