राप्ती गाउँपालिकाकाे सार्वजनिक सुनुवाई, रूपाकोटमा १२ कक्षा सञ्चालनको माग



राप्ती गाउँपालिकाकाे सार्वजनिक सुनुवाई, रूपाकोटमा १२ कक्षा सञ्चालनको माग

भालुवाङ १५ चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ का नागरिकहरूले मावि रूपाकोटमा १२ कक्षा सम्मको पढाइ हुनुपर्ने माग गरेका छन् ।

बिहीबार ९ नम्बर वडा कार्यालय रूपाकोटमा आयोजित राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ काे दाेस्राे चाैमासिक अवधिक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी नागरिकहरूले सो माग गरेका छन् । हाल कक्षा १० सम्म सञ्चालनमा रहेको सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई थप उच्च शिक्षा हासिल गर्न झण्डै १२ किलोमिटर हिडेर देउखुरी पढ्न जानुपर्ने बाध्यता रहेकाले कक्षा १२ सम्म पढाइ हुनुपर्ने माग गरेका हुन् । त्यस्तै सहभागी नागरिकहरूले शिक्षा सँगै स्वास्थ्य, कृषि, सडक, सिँचाइ,विद्युत, यातायात लगायत विकासका पूर्वाधारहरू, पर्यटकीय क्षेत्रको प्रवर्द्धन, संरक्षण र विकास तथा सुशासन लगायत गाउँपालिका र मातहतका कार्यालयबाट प्रवाह गरिने विकास र सेवाका विषयमा गुनासा, जिज्ञासा तथा सुझाव राखेका थिए ।

सहभागीहरुले उठाएका प्रश्न तथा जिज्ञासाहरुकाे गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी, प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, वडा अध्यक्षहरु तथा विभिन्न शाखाका शाखा प्रमुख तथा कर्मचारीहरूले जवाफ दिएका थिए । राप्ती गाउँपालिका र मातहतका कार्यालयहरूको काम कार्वाही, सेवा प्रवाह, योजना जस्ता सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया गराउने तथा सेवाप्रति सेवा प्रदायकलाई जबाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रमकाे आयोजना गरिएको गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले बताइन् ।

साे अवसरमा प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले दाेस्राे चाैमासिक अवधिमा गाउँपालिकाले गरेका काम र प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख, शिक्षक, विद्यार्थी, टोल विकास संस्थाका अध्यक्ष, उपभोक्ता समितिका पदाधिकारी, संचारकर्मी लगायत स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

स्थानीय तहमा पारदर्शिता र जबाफदेहिताको औजारको रूपमा हेरिने सार्वजनिक सुनुवाइ कार्यक्रम पालिकाले प्रत्येक चौमासिक रूपमा गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे