एमाले एक्लैको नेतृत्वमा बहुमतको सरकार बनाउनतर्फ लाग्नुपर्छः एमाले महासचिव पाेख्रेल



एमाले एक्लैको नेतृत्वमा बहुमतको सरकार बनाउनतर्फ लाग्नुपर्छः एमाले महासचिव पाेख्रेल

लमही ९ कार्तिक । नेकपा एमालेका महासचिव शंकर पाेख्रेलले नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्दै एमाले एक्लैको नेतृत्वमा बहुमतको सरकार बनाउने दाबी गरेका छन् ।

दाङको लमहीमा राष्ट्रिय पर्वहरुको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै एमाले महासचिव पाेख्रेलले देशमा देखिएको अस्थिरताबाट निकास दिन एमालेलाई बलियो राजनीतिक शक्तिको रुपमा स्थापित गर्न आवश्यक रहेको बताए । एमालेलाई बहुमत प्राप्त हुने दिशामा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिए ।

‘कुनैपनि पार्टीको बैशाखी विना, सहारा विना, एक्लै नेकपा एमाले बहुमतको सरकार बनाउन हामी मिसान ८४ लाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेछ’ उनले भने, ‘अव एमालेको बहुमतको सरकार, सुखी नेपाली–समृद्ध नेपालको राष्ट्रिय अकांक्षा पूरा गर्ने हाम्रो योजनातर्फ हामी नेता कार्यकर्ता संलग्न हुनुपर्छ ।’ उनले कांग्रेससंग सत्ताको बार्गेनिङ्ग गर्न समाजवादी मोर्चा बनाइएको टिप्पणी गरेका छन् । ‘सत्तामा रहेका कांग्रेसइतर पार्टीहरूले समाजवादी मोर्चा बनाएका छन्, केका लागि भन्दा कांग्रेससंग सत्ताको बार्गेनिङ्ग गर्न’ उनले भने, ‘राष्ट्रको विकास र समृद्धिको लागि समाजवाद निर्माणको लागि समाजवादी मोर्चा भन्ने खालको कुरा गर्या भए एउटा कुरा हुन्थ्यो । त्यो त कार्यकर्तालाई अल्मल्याउने खेल मात्रै हो ।’

कार्यकर्ताहरु एमाले हुने भएपछि समाजवादी मोर्चाको नाममा अल्मल्याउने खेल मात्रै भएको उनले टिप्पणी गरे । नेकपा माओवादी केन्द्रले दसैं पर्वलाई लक्षित गरेर गैर जिम्मेवार राजनीतिक नारा बनाएकै कारण अहिले माओवादी पार्टीका नेताहरुले खुलेर दसैंको टिका लगाउन नसकेको एमाले महासचिव पाेख्रेलले टिप्पणी गरे । ‘आज भोलि माओवादीका नेताहरु घरभित्र लुकेर दसैंको टिका लगाउनुहुन्छ । हिजो बहिस्कार भन्दै हिँड्नु भयो । आज घर भित्र लगाउने बाध्यता आइलाग्या छ,’पाेख्रेलले भने ।

दसैंलाई नेपालीहरुको राष्ट्रिय पर्वको रुपमा सबैले स्विकार गर्नुपर्ने उनले बताए । ‘अहिले जसले दशैंका बारेमा नकारात्मक टीका-टिप्पणी गर्दै हुनुहुन्छ । उहाँहरु सबैले दसैंलाई संस्कृतिको पर्वको रुपमा, नेपालीहरुको पर्वको रुपमा स्वीकार गर्न कर लाग्छ’ उनले भने, ‘कतिपयले दसैंलाई हिन्दू धर्मको पर्वको रुपमा त्यसलाई धर्म विशेष पर्वको चित्रण गर्न कोशिस गरेको देखिन्छ । तर, हिन्दूहरु नेपालमा मात्रै छैनन् । नेपालमा भन्दा धेरै हिन्दूहरु भारतमा छन् । भारतमा भएका हिन्दूहरुले दसैंको समयमा हामीले जस्तो जमरा राख्दैनन् । भारतमा रहेका हिन्दूहरुले हामीले जस्तो अक्षेता लगाउने गर्दैनन् । नेपालको दशैं आफ्नै प्रकारको मौलिक छ ।’ नेपाललाई कमजोर पार्न मौलिक संस्कृतिमाथी प्रहार भइरहेको एमाले महासचिव पाेख्रेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे