लुम्बिनी प्रदेशको राजधानीलाई कस्तो शहर बनाउने बिषयमा छलफल शुरु



लुम्बिनी प्रदेशको राजधानीलाई कस्तो शहर बनाउने बिषयमा छलफल शुरु

भालुवाङ ५ असोज । लुम्बिनी प्रदेशको राजधानीस्थल राप्ती उपत्यकालाई कस्तो शहर बनाउने बिषयमा छलफल शुरु भएको छ । विश्वका अन्य शहर जस्तै प्रदेशको राजधानीस्थललाई भोली कस्तो शहर बनाउने बिषयमा विज्ञ टोली नै परिचालन गरी स्थानीय सरोकारवालाहरु संग छलफल शुरु गरिएको हो ।

लुम्बिनी प्रदेशको राजधानीस्थल राप्ती उपत्यकालाई अहिले भइरहेका र देखेका शहर भन्दा व्यवस्थित राजधानीको शहर निर्माण गर्न स्थानीय सरोकारवालाहरु संग छलफल शुरु गरिएको छ ।

प्रदेशको राजधानीमा बन्ने भोलिको शहरलाई सबैखाले विपत्बाट सुरक्षित राख्न प्रदेश पूर्वाधार विकास प्राधिकरणले विदेशी र स्वदेशी विज्ञहरुसँग सहकार्य गरेर भोलिको राजधानी शहर कस्तो बनाउने भन्ने बारेमा अध्ययन गरिरहेको छ ।

जसअन्तर्गत समुदायस्तरका नागरिक र महिलाहरुले राजधानी शहरलाई कसरी हेरेका छन् भन्ने बिषयमा जानकारी लिन यति बेला बिज्ञ टोलीले ठाउँ—ठाउँमा छुट्टाछुट्टै गोष्ठीको आयोजना गरी सुन्दर, समुन्नत र प्रकोपहरुबाट सुरक्षित बनाउन सुझाब लिने काम गरिरहेको छ ।

प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी शहर निर्माणका लागि राप्ती गाउँपालिका, प्रदेश पूर्वाधार विकास प्राधिकरण, भुकम्प प्रविधि राष्ट्रिय समाजले संयुक्त रुपमा ‘भोलिको राजधानी शहर कस्तो बनाउने, कसरी सुरक्षित राख्ने भन्ने बिषयमा अध्ययन गर्न स्थानीय सरोकारहरु संग सुझाव लिने काम तीब्र गतिमा अगाडी बढाइएको छ ।

यता राजधानीबासीहरुले भने जोखिम रहित, समतामूलक, समुन्नत, सफा र सन्दर शहरको बनाउन राजधानीबासी रामप्रसाद चौधरीले सुझाब दिए । उनीहरुले राजधानी शहर सबैको सपनाको शहर हो । यसलाई प्राकृतिक र मावन सिर्जित विपतबाट सुरक्षित राख्नुपर्ने सुझाब दिएका छन् ।

त्यस्तै राजधानीबासी बिष्णुप्रसाद पोख्रेलले राजधानीमा शहर बन्दै गर्दा राजधानीमा बसोबास गर्ने थारु, यादव लगायत अन्य सिमान्तकृत समुदायहरु बिस्थापित नहुने गरी सुन्दर शहर बनाउनुपर्ने सुझाब दिए । राजधानी बन्ने तर यहाँका नागरिक बिस्थापित हुने अवस्था आउन दिनु हुँदैन उनले भने ।

भोलिको राजधानी शहर सबैलाई बस्न मिल्ने समतामूलक शहर बनाउने अभियान अन्तर्गत अध्ययनको काम भइरहेको भोलिको शहर परियोजना अन्र्तगत भुगोल तथा समाजका बरिष्ठ अनुसन्धानकर्ता डा. डिल्लीप्रसाद पौडेलले बताए ।

उनले राजधानी बनाउने राजनितिक निणर्य भएपनि अहिले शहर नबनिसकेको अवस्थामा हामीले बिगत चार बर्ष देखि विश्वका चार ठाउँ काठमाडौँको टोकना, करिडोरको तितो, टर्कीको स्टाम्लुङ्ग र केनियाको नैरबुमा यही प्रकारको अध्ययनबाट भोलीको शहर बनाउन के—के चाहिन्छ भन्ने मोडेल तयार बनेकोले सोही मोडेलका आधारमा आफूहरुले प्राधिकरण र राप्ती गाउँपालिका संग सम्झौता गरी अध्ययनको काम शुरु गरेको बताए ।

‘अहिले राजधानी शहरको सोच निर्माणको काम भइरहेको छ’ उनले भने । ‘भोलि बन्ने शहर विपतबाट सुरक्षित बन्न सकोस् भन्ने उद्देश्य राखेर सोच निर्माण गर्न छलफल शुरु गरेका छौँ, उनले भने ।

राजधानी घोषणा भएको करिब तीन बर्ष पुरा भइसकेको छ, तर राजधानीको शहर कस्तो बनाउने बिषय अझै टुङ्गो लाग्न सकेको छैन । कुन मोडेलमा राजधानीको शहर बनाउँदा सुरक्षित र दिर्घकालिन हुन्छ त्यस बिषयमा ब्यापक अनुसन्धान र छलफलका माध्यमबाट अगाडी बढाउँदा लुम्बिनी प्रदेशको राजधानी विश्व कै सुन्दर र उत्कृष्ट बन्नेमा दुई छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे