रोक्का जग्गा फुकुवा गर्न राजनीतिक दलहरू सहमति नजिक, भदाै २२ गते बस्ने बैठकले टुंगो लगाउने



रोक्का जग्गा फुकुवा गर्न राजनीतिक दलहरू सहमति नजिक, भदाै २२ गते बस्ने बैठकले टुंगो लगाउने

भालुवाङ २१ भदाै । लुम्बिनी प्रदेशको रोक्का जग्गा फुकुवा गर्न प्रदेश स्तरका प्रमुख राजनीतिक दलहरू सहमति नजिक पुगेका छन् ।

अर्थमन्त्री धनबहादुर मास्कीको अध्यक्षतामा बिहीबार मुख्यमन्त्री कार्यालय माैरीघाटमा बसेको सर्वदलीय बैठकमा उपस्थित राजनीतिक दलहरू जग्गा फुकुवा गर्ने विषयमा सहमति नजिक पुगेका हुन् । बैठकमा लामो समय देखि रोक्का जग्गाले राजधानीबासी नागरिकलाई ठुलो असर परेको स्मरण गर्दै जग्गा फुकुवा गर्न नजिक पुगेपनि केही विषयमा कुरा नमिलेकाले भदाै २२ गते आर्को बैठक बस्ने र निश्कर्षमा पुग्ने गरि बिहीबारको बैठक सकिएको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेले जानकारी दिएका छन् ।

नेकपा एमाले वाहेक अन्य सवै दलका नेताहरूले कित्ताकाट विना जग्गा फुकुवा गर्न सहमत भएपनि नेकपा एमालेका सचेतक तुलसी प्रसाद चाैधरी हतारमा जग्गा फुकुवा गर्दा राजधानी व्यवस्थापनमा असर पुग्ने र विना कित्ताकाट जग्गा फुकुवा गर्दा नागरिकहरूलाई कुनै फाइदा नहुने भन्दै १/२ हप्ता लगाएर भएपनि कुन- कुन मापदण्ड अनुसार कित्ताकाट गर्दा राजधानी व्यवस्थापनमा असर पुग्दैन त्यसको अध्ययन गरेर मात्र कित्ताकाट सहितको जग्गा फुकुवा गर्न अडान लिएपछि बिहीबारको बैठक स्थगित भएको प्रवक्ता पाण्डेले बताए ।

मुख्यमन्त्री बैठकमा उपस्थित नभएका कारण बिहीबारको बैठकमा सहमति जुट्न सकेन । शुक्रबार बस्ने बैठकमा मुख्यमन्त्री डिल्ली बहादुर चाैधरीले प्रमुख राजनीतिक दलका प्रमुख सँग छुट्टाछुट्टै भेटघाट गर्ने र सहमति जुटाएर अन्तिम टुंगो लगाउने तयारी रहेको प्रवक्ता पाण्डेले बताएका छन् । त्यस्तै बैठकमा लामो समय देखि रोक्का जग्गाले ऋण लिन नपाएका नागरिकहरूलाई सहज तरिकाले ऋण दिने व्यवस्था मिलाउन सरकारले बैंक तथा वित्तीय संस्थाका प्रमुख सँग बसेर छलफल गर्ने विषयमा सहमति भएको पनि प्रवक्ता पाण्डेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे