आँखा पाक्ने रोगको प्रकोप बढेपछि देउखुरीकाे गढवामा साउन २८ गतेसम्म विद्यालय बन्द



आँखा पाक्ने रोगको प्रकोप बढेपछि देउखुरीकाे गढवामा साउन २८ गतेसम्म विद्यालय बन्द

गढवा २१ साउन । पछिल्लो समयमा बढ्दै गएको आँखा पाक्ने रोगको प्रकोपका कारण दाङ-देउखुरीको गढवा गाउँपालिका विद्यालयहरु आगामी साउन २८ गते सम्मका लागि बन्द गरिएकाे छ । दिनानुदिन आँखाका बिरामी बढ्दै जान थालेपछि गढवा गाउँपालिकाले आज आइतबार एक सुचना जारी गरी साउन २८ गतेसम्म विद्यालयमा पठनपाठन स्थगन गर्न अनुरोध गरेको हो ।

गढवा गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाले आज एक सूचना जारी गरी केही दिनदेखि बढ्दै गएको आँखासम्बन्धी प्रकोपका कारण बालिबालिकामा हुन सक्ने जोखिम न्यूनीकरणका लागि विद्यालयमा पठनपाठन बन्द गर्न आग्रह गरेको हो ।

‘केही दिन यता विद्यालय तथा समुदायस्तरमा बालवालिकाहरुको आँखा चिलाउने पाक्ने र रातो हुने समस्या दिन प्रतिदिन गुणात्मक रुपमा वृद्धि भइरहेको हुदाँ उक्त समस्यावाट बालबालिकाहरुमा हुन सक्ने जोखिम न्यूनीकरण गर्नका लागि मिति साउन २८ गतेसम्म यस पालिका अन्तरगत सञ्चालित संस्थागत विद्यालयहरु बन्द गर्नु र गराउनु हुन आदेशानुसार सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । ’ जारी सूचनामा उल्लेख छ ।

सामुदायिक विद्यालयहरुमा भने यसअघि नै बर्खे बिदा गरिएको छ । बर्खे बिदापश्चात सामुदायिक विद्यालयहरु साउन २९ गतेदेखि सञ्चालन हुने छन् । पछिल्लो चरणमा देशका विभिन्न स्थानमा आँखासम्बन्धी रोगको प्रकोप बढ्दै जान थालेको छ । विद्यालय तथा समुदायस्तरमा यस्ता बिरामीको सङ्ख्या बढ्दै जान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे