राप्तीको ४८ वटा खोप केन्द्रमा भोली देखि जेठ ३० गते सम्म दादुरा रूवेला विरूद्वको खोप लगाइदै



राप्तीको ४८ वटा खोप केन्द्रमा भोली देखि जेठ ३० गते सम्म दादुरा रूवेला विरूद्वको खोप लगाइदै
सिसहनियाँ २४ जेठ । दाङको राप्ती गाउँपालिकाको ९ वटै वडामा भोली देखि दादुरा रूवेला विरूद्वको खोप लगाउने अभियान सञ्चालन हुँदै छ । खोप सञ्चालनका लागि राप्ती गाउँपालिका स्वास्थ्य शाखाले ९ वटै वडामा वडा स्तरिय खाेप समन्वय समिती र सराेकारवालाहरू बीच अभिमुखीकरण तथा समन्वय बैठक समेत सम्पन्न गरेको छ ।
जन्मेको ६ महिना देखि १५ बर्ष मुनिका बालबालिकालाई राप्ती गाउँपालिकाको ४८ वटा खोप केन्द्रबाट भोली देखि जेठ ३० गते सम्म दादुरा रुवेला विरूद्वको खोप लगाउने कार्यक्रम रहेको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् । करिव १३ हजार ८ सय ४० जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् ।

अहिले देशका विभिन्न जिल्लाहरुमा जस्तै दाङ जिल्लामा पनि दादुरा महामारी देखिएको छ। दादुरा रोग निकै छिटो सर्ने सरूवा रोग भएकोले यो रोग अत्यन्त संक्रामक रहेको र विषेश गरि ५ वर्ष मुनिका बालबालिकालाई यो रोग छिटो सर्ने जोखिम भएको र यसले निमोनिया, झाडापखाला, कुपोषण जस्ता कारणले विरामीको ज्यान समेत जान सक्ने भएकोले सो जोखिम न्युनिकरण गर्न खोप कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गर्नु परेको शाखा प्रमुख रावतले जानकारी दिएका छन् । खोप सञ्चालन हुने केन्द्रमा आफुलाई पायक पर्ने केन्द्रमा लगेर आफ्ना बालबच्चालाई नछुटाएर खोप लगाउन स्वास्थ्य शाखा प्रमुख राउतले सवैमा आग्रह गरेका छन् ।दाङ सहित सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर बाजुरामा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइने भएको छ । देशका विभिन्न जिल्लामा दादुरा महामारी देखिएको र महामारी अन्य जिल्लामा फैलिन सक्ने जोखिम रहेकोले बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप दिइन थालिएको हो । उनका अनुसार यसअघि नेपालमा १३ जिल्लामा दादुरा रुवेला रोगको सङ्क्रमण देखिएको थियो ।

दादुरा रुवेलारोग कोरोना भाइरसभन्दा पनि तीव्र गतिले फैलिने र मृत्युदर पनि उच्च रहेको छ । एकजना दादुरा सङ्क्रमितले १८ जनासम्म रोग सार्न सक्छ । मन्त्रालायले यसअघि जतिपटक खोप लगाए पनि अभियानका क्रममा खोप लगाउन आग्रह गरिएको छ । मन्त्रालयले अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे