देउखुरीमा नदीजन्य पदार्थको चोरी निकासी रोकिएन, ५९४ घनमिटर ढुङ्गा नियन्त्रण



देउखुरीमा नदीजन्य पदार्थको चोरी निकासी रोकिएन, ५९४ घनमिटर ढुङ्गा नियन्त्रण

दाङ १५ जेठ । दाङको लमही नगरपालिकाले वडा नम्बर ४ को बुट्कहावा–सेम्रहवाको नर्सरीमा अवैध रूपमा भण्डार गरेर राखेको ५९४ घनमिटर ढुङ्गा जफत गरेको छ। शनिबार लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको नेतृत्वमा गएको अनुगमन टोलीले राजस्व नतिरी राप्ती नदीबाट अवैध तरिकाले भण्डारण गरेर राखेको नदीजन्य पदार्थ ढुङ्गा नियन्त्रणमा लिएको हो।

उपप्रमुख योगीका अनुसार शनिबार नै अवैध रूपमा ढुवानी गर्दै गरेका तीन वटा ट्याक्टरसमेत अनुगमन टोलीले नियन्त्रणमा लिएको छ। अनुगमनका क्रममा  लमही नगरपालिका–२ को छिगटपुर घाटबाट अवैध उत्खनन गर्ने तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको उनले बताइन्। नगरपालिकाले राप्ती नदीबाट अवैध तरिकाले गिट्टी बालुवा ल्याउँदै गरेका रा १ त ३८०६, रा १ त ४०७३ र रा १ त ४२१९ नम्बरका ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाहीका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ।

त्यसै गरी राजपुर गाउँपालिका–२, मटेरिया घाटमा गत चैत १३ बाट उत्खनन सुरु भयो। सडक ग्राभेल गर्ने बहानामा नदीमा मनपरी उत्खनन भइरहेको भन्दै स्थानीयले आवाज उठाएपछि अनुगमन गरिएको थियो। नदीमा निरन्तर जेसिबी लगाएर  ट्याक्टरले नदीजन्य पदार्थ ओसार्ने काम गरेको स्थानीय रामचन्द्र यादवले बताइन्। जिल्लाका स्थानीय सरकारले नदीजन्य पदार्थको चोरी निकासी नियन्त्रण गर्न नसक्दा लाखौँ मूल्य बराबरको नदीजन्य पदार्थ दिनहुँ चोरी निकासी हुने गरेको छ। पछिल्लो समय देउखुरीको राप्ती नदीसँगै दाङ उपत्यकाको हापुर खोला, गुहार खोला, बौलाहा खोलालगायतका विभिन्न स्थानबाट नदीजन्य पदार्थ चोरी निकासी हुने गरेको छ। चोरी निकासी रोक्न नसक्दा लाखौँको राजस्व पनि गुमेको छ।

नदीजन्य पदार्थको चोरी निकासी बढेपछि जनताले आवाज उठाउँदा समेत कसैले नसुन्ने गरेको स्थानीय हेमकुमार जिसी बताउँछन्। जनप्रतिनिधिको संरक्षण हुँदा चोरी निकासीमा संलग्नको मनोबल बढेको स्थानीयको बुझाइ छ। तर ठेक्का लगाएर उत्खननको अनुमति दिएको राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति यादव बताउछिन्। उनले नियमपूर्वक नै नदीजन्य पदार्थ उत्खनन गर्ने जिम्मा दिएको र अनुगमन गरिएको बताउनुभयो। उपाध्यक्ष यादवले भने, “केही घटनाबाहेक अधिकांश नदीजन्य पदार्थ उत्खननका लागि दिएको ठाउँबाटै उठ्ने गरेको छ। नियम अनुसार भए/नभएको बारे बुझ्नलाई हामीले अनुमगनसमेत गर्ने गरेका छौँ।”

लमही नगरपालिकाले यसपालि कुनै पनि घाटमा ठेक्का लगाउन सकेन। यसले गर्दा चोरी निकासी बढेको छ। नगरपालिकाको अनुगमनपछि चोरी निकासी कम हुने उपप्रमुख योगी बताउँछिन्। उपप्रमुख योगीले भनिन्, “नदीजन्य पदार्थ चोरी निकासी भएका खबरहरू आइरहेका छन्। कतिपयलाई समातेर कारबाहीसमेत गर्ने गरेका छौँ तर चोरी निकासी रोक्न एक्लो प्रयासले सम्भव छैन।” गढवा गाउँपालिकाले मुस्किलले पाँच स्थानमा ठेक्का लगाएको छ। ठेक्का लगाउँदा पनि चोरी निकासी नियन्त्रण हुन नसकेको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल बताउँछन्। अध्यक्ष पोख्रेलले भने, “नदीजन्य पदार्थ नियन्त्रणका लागि हामीले प्रयास गर्दागर्दै पनि पूर्ण रूपमा नियन्त्रण गर्न सकेका छैनौँ। प्रयास जारी राखेका छौँ।”  गोरखापत्र अनलाइनबाट साभार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे