जन्मकैदको सजाय भोगिरहेका पूर्वसांसद रेशम चौधरी रिहा
काठमाण्डाै १५ जेठ । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय भोगिरहेका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै चौधरी आज बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।
पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको छ । चौधरीलाई सजाय माफी दिने विषयमा सत्ता गठबन्धनमा यसअघि नै सहमति भइसकेको थियो । संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुलतबी, परिवर्तन वा कम गर्न सक्ने उल्लेख छ ।
२०७२ साल भदौ ७ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । त्यो घटनाको योजनाकार र मुख्य अभियुक्तका रूपमा रेशम चौधरीलाई अदालतबाट जन्मकैदको सजाय भएको थियो । घटनाको योजनाकारको आरोप लागेका चौधरी त्यसपछि भूमिगत भएका थिए । २०७४ मंसिरमा भएको चुनावमा चौधरी भूमिगत अवस्थामै कैलाली १ बाट प्रतिनिधि सभा सदस्यमा भारी मतले विजयी भएका थिए ।
रेशमलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सर्वोच्च अदालतले गएको जेठ २ मा सदर गरेको थियो । रेशमकी श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा छ । नागरिक उन्मुक्तिले चौधरीलाई सजाय माफी हुनुपर्ने भन्दै सरकार र सत्ता साझेदार दलहरुसँग निरन्तर दबाब दिँदै आएको थियो ।