लक्ष्मी लघु वित्त वित्तीय संस्थामा आवद्व महिलाहरूले लिए कृषि तालिम



सिसहनियाँ २१ वैशाख । दाङको राप्ती गाउँपालिका ५ सिसहनियाँमा रहेको लक्ष्मी लघु वित्त वित्तीय संस्थामा आवद्व महिलाहरूले बुधबार र विहिवार गरि २ दिन कृषि तालिम लिएका छन् ।

लक्ष्मी बैंक, सीप र यु.के आइडीको सहकार्यमा प्रशिक्षण साझेदार संस्था मनकामना ट्रेनिङ एण्ड स्किल डेभलपमेन्ट इन्सिच्युट प्रालिद्वारा लक्ष्मी लघु वित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सिसहनियाँले सिप विकास तथा क्षमता अभिवृद्धि तालिम अन्तरगत संस्थामा आवद्व महिलाहरूलाई कृषि तालिम प्रदान गरेको हो ।

घरमा सामान्य खेतीपाती र खानका लागि मात्र तरकारी बाली लगाउँदै आएका महिलाहरूले वित्तीय संस्थामा बचत र ऋण निकाल्ने मात्र काम नगरि व्यवसायीक बन्न कृषि तालिम लिएका हुन् । संस्थामा आवद्व विनिता डाँगी चाैधरी र सावित्री चाैधरीले तालिमबाट आफुले थुप्रै कुरा सिकेको र त्यही सिपलाई व्यवहारमा लागू गर्दै कृषि उद्यमी बन्ने बताएका छन् । परम्परागत खेती गर्दै आएका ती महिलाहरू अब भने तालिमबाट आधुनिक खेती गर्न उत्साहित देखिएका छन् ।

संस्थाका शाखा प्रमुख शिला जिसीको अध्यक्षता एवम् देउखुरी लघु वित्त कर्मचारी मञ्चका सचिव सन्तोष पाैडेलको प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा बोल्ने वक्ताहरूले महिला दिदीबहिनीहरूलाई व्यवसायीक बन्न सुझाव दिएका छन् । कृषिका माध्यमबाट अर्थतन्त्रमा समेत सुधार हुने भएकाले तालिममा लिएको सिपलाई पुर्ण कार्यन्वयन गरि व्यवहारिक बन्न आग्रह गरेका छन् ।

कार्यक्रममा मनकामना ट्रेनिङ एण्ड स्किल डेभलपमेन्ट इन्सिच्युटका क्षेत्रिय संयोजक इन्द्र देवकोटा, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, कृषि प्राविधिक मनिषा सावद, तालिमका सहभागीहरू विनिता डाँगी चाैधरी र सावित्री चाैधरी लगायतका वक्ताहरूले आ-आफ्नो भनाई राखेका थिए ।

सो अवसरमा राप्ती गाउँपालिका ७ छोटकी सिसहनियाँ निवासी टोपराम पुनले ईसेवा मार्फत लक्ष्मी लघु वित्त वित्तीय संस्थामा रहेको किस्ता तथा बचत राखेकोमा लक्की ड्र मार्फत स्मार्ट वाच जितेका छन् । ई सेवा प्रयोग गरी लक्ष्मी लघुवित्त वित्तीय संस्थामा कर्जा तथा बचत जम्मा गर्न आग्रह गर्नुका साथै लक्ष्मी मोबाइल पैसा एपको प्रयोग गरी छिटो छरितो सेवा लिन र आफ्नो कारोबारमा पारदर्शी हुन सबै ग्राहक सदस्यलाई लक्ष्मी लघु वित्त वित्तीय संस्थाका शाखा प्रमुख शिला जिसीले आग्रह गरेकी छिन् । त्यस्तै कार्यक्रममा राप्ती गाउँपालिका ५ पहरूवा निवासी क्यान्सर पिडित भुमा विकलाई संस्थाले नगद ३ हजार ५०० रूपैयाँ सहयोग समेत गरेको छ ।

तालिममा संस्थामा आवद्व ७० जना महिलाहरूको उपस्थिति रहेको तालिमको प्रशिक्षकमा राप्ती गाउँपालिका कृषि शाखा प्रमुख सिमा भट्ट र बर्सादी कठरिया रहेका थिए । कार्यक्रमको सञ्चालन प्रतीक्षा महताले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे