उच्च अदालत तुलसीपुरद्धारा शिक्षक सरुवा कार्यान्वयन नगर्न अन्तरिम आदेश
दाङ २० वैशाख । घोराही उपमहानगरपालिकाले गरेको शिक्षक सरुवाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश दिएको छ ।
उच्च अदालत तुलसीपुरले बुधवार अन्तरिम आदेश दिँदै घोराही उपमहानगरपालिका शिक्षा समितिले मिति २०७९ चैत ८ गते गरेको शिक्षक सरुवाको निर्णय सुविधा सन्तुलनका दृष्टिले हाल कार्यान्वयन नगरी यथास्थितीमा राख्न उपयुक्त देखिएको भन्दै रिट निवेदनको अन्तिम टुंगो नलागेसम्मका लागि निवदेकहरुको हकमा कार्यान्वयन नगर्न भनेको हो ।
न्यायाधीस द्वय राजुराम सिलवाल र बबिता उप्रेतीको संयुक्त इजलास अन्तरिम आदेश जारी हुने र नहुने गरी राय बाझिए पनि न्यायाधिस राजुराम सिलवालको राय सदर भएको उच्च अदालतको आदेशमा उल्लेख छ । न्यायाधिस द्वयको राय बाझिएपछि उच्च अदालत तुल्सीपुरका कायममुकाम मुख्य न्यायाधीस रणबहादुर बागचनको इजलाशबाट घोराही उपमहानगरपालिकाको शिक्षा ऐन २०७५ को दफा ३१ तथा शिक्षा नियमावली २०७६ को नियम २५ को ब्यवस्था र २०७६ को नियम ४९ को सरुवा सम्वन्धी ब्यवस्था उल्लेख गर्दै सो आदेश आएको हो ।
गत चैत ८ गते घोराही उपमहानगरपालिकाले एक सय एकजना शिक्षकहरुको सरुवा गरेको थियो । उक्त सरुवा सहमति विपरीत गरिएको भन्दै गत चैत १४ गतेदेखि शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरु आन्दोलित छन् । पद्मोदय पब्लिक नमुना मावि भरतपुरका प्राथमिक शिक्षक तर्क बहादुर बस्नेतले घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, घोराही उपमहानगरपालिकाको कार्यालय र नगर शिक्षा समितिलाई विपक्षी बनाई उच्च अदालतमा रिट निवेदन दिएका थिए ।
