नागरिकहरुलाई पानी खाने तरिका सिकाउन जरुरी छ : अध्यक्ष विष्ट



भालुवाङ १८ चैत । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नागरिकहरुलाई पानी खाने तरिका सिकाउन आवश्यक रहेको बताएका छन् ।
सिरिचौर खानेपानी तथा सरसफाई उपभोक्ता समिति राप्ती गाउँपालिका ३ मसुरीयाले शनिवार मसुरीयामा आयोजना गरेको खानेपानी सम्बन्धि अन्तरक्रिया सम्मान तथा बिदाई कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । नागरिकहरुले अझै पनि पानी खाने तरिका थाहा नपाएकोले यसको महत्व र उपयोगीताका बारेमा बुझाउन आवश्यक रहेको बताएका छन् ।

प्रमुख अतिथि समेत रहेका अध्यक्ष विष्टले मानव शरीरलाई कति पानी शरीरमा चाहिन्छ र कति बेला खाने भन्ने कुरा समेत थाहा नहुन सक्ने भएकोले शरीरलाई निरोगी बनाउन पनि यसको महत्व बारे बुझाउन जरुरी रहेको बताएका छन् । त्यस्तै अध्यक्ष विष्टले राप्ती गाउँपालिकामा समस्याको रुपमा रहेको फोहोर व्यवस्थापनमा सहयोग गर्न राप्तीबासीलाई आग्रह समेत गरेका छन् ।

समितिका अध्यक्ष तुला गिरीको अध्यक्षतामा भएको कार्यक्रममा समितिका निर्वतमान अध्यक्ष मधुसुदन पौडेल, निर्वाचन अधिकृत श्यामबहादुर गिरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा वर्तमान समितिले निर्वतमान कार्यसमितिलाई बिदाई तथा सम्मान गर्नुका साथै निर्वाचन मण्डललाई समेत सम्मान गरेको थियो । समितिकी कोषाध्यक्ष सीता थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन समितिका सचिव सन्तोष अधिकारीले गरेका थिए । ३ र ४ नम्बर वडाका १ हजार ६९ घरधुरीलाई खुवाउँदै आएको समितिले ६६ लाख ९७ हजार बचत गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे