राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा ल्याउने काेसिस भइरहेकाे छ : मन्त्री शर्मा



काठमाण्डौ २४ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई फेरि सरकारमा ल्याउने काेसिस भइरहेको बताएकी छिन् ।

मङ्गलवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको उत्तर दिँदै मन्त्री शर्माले यस्तो बताएकी हुन् । रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिसकेकाले सरकार सङ्कटमा नरहेको उनको भनाइ छ । उनले सरकार छोड्नु पार्टीको स्वतन्त्र अधिकार भएकाले अहिले रास्वपालाई फेरि सरकारमा ल्याउन राजनीतिक ढङ्गबाट पहल गरिएको बताइन् ।

मन्त्री शर्माले भनिन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेको छ तर सरकारको समर्थन फिर्ता लिएको छैन । उनीहरूले सरकार छोडे, उनीहरूको आफ्नो पार्टीको स्वतन्त्रताको कुरा हो । प्रधानमन्त्रीज्यूले बाहिर सार्वजनिकरूपमा पनि गठबन्धनलाई बचाउनका निम्ति र उनीहरूलाई पनि फेरि सरकारमा सहभागी गराउनका निम्ति प्रयत्नशील छौँ भनेर बोलिरहेका छन् । त्यसका लागि पहल, प्रयत्न भइरहेको छ । सरकारको समर्थन फिर्ता नलिसकेपछि सरकार सङ्कटमा परेको छैन ।’

मन्त्री शर्माले किसानले तरकारी फालेर विरोध जनाइरहेको बारेमा सरकारको ध्यानाकर्षण भएको जानकारी दिइन् । उनले कृषिजन्य पदार्थ उत्पादनमा जोड दिने भनिरहँदा बजार भाउ र समर्थन मूल्य नतोकिँदा समस्या आएकाले अब सरकारले उत्पादक र उपभोक्ताको बीचमा रहेको ‘ग्याप’ लाई समाधान गर्नेबारेमा छलफल भएको बताइन् । किसान र उपभोक्ताबीचका बिक्रेताका लागि लाइसेन्सको व्यवस्था गर्नेबारेमा पनि मन्त्रालयस्तरीय बैठकमा छलफल भएको उनले बताइन् ।  मन्त्री शर्माले पाँच दिनसम्म प्रतिनिधि सभाअन्तर्गतका समिति बनिसक्ने पनि बताइन् । उनले समितिहरू निर्माण गर्न ढिलाइ हुँदा आवश्यक विधेयक पनि संसदमा पेस हुन नसकिरहेको भन्दै समिति निर्माण गरेर विधेय पास गर्नुपर्ने अवस्था रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे