माओवादी लुम्बिनी प्रदेश कमिटीद्वारा स्व. शान्तराज शर्माको श्रद्धाञ्जली सभा



सिसहनियाँ १५ माघ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीले स्व. शान्तराज शर्मा पन्थीको १३ आैं दिनको पुण्य तिथिका अवसरमा आइतबार श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ ।

नेकपा माओवादी केन्द्र निकट जेष्ठ कम्युनिस्ट मञ्च लुम्बिनी प्रदेश कमिटी सदस्य समेत रहेका स्व. शर्माको निवास राप्ती गाउँपालिका ५ सिसहनियाँमा श्रद्धाञ्जली सभा कार्यक्रम गरिएको हो ।

पार्टीका लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष लुमाकान्त न्याैपाने सागरको अध्यक्षता एवम् केन्द्रीय पोलिटव्युरो सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यतामा भएको भएको सभामा बोल्दै प्रमुख अतिथि आचार्यले स्व. शर्माले पार्टी र समाजमा पुर्‍याएको योगदानको चर्चा गर्दै उनले देखाएको बाटोमा हिड्न सुझाव दिएका थिए ।

सो अवसरमा नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका इन्चार्ज चित्रबहादुर थापा र मृतकका भान्जा विनायक रेग्मी लगायतकाले शोक मन्तव्य व्यक्त गरेका थिए ।

सभामा स्व. शर्माको जिवनीका बारेमा मृतकका जेष्ठ सुपुत्र प्रकाश पन्थी प्रकाश पारेका थिए । भने कार्यक्रमको सञ्चालन पार्टी लुम्बिनी प्रदेश कमिटीका सचिव कृष्ण अधिकारीले गरेका थिए । शर्माको यहि माघ ३ गते आफ्नै घरमा ७८ वर्षको उमेरमा निधन भएको थियोे ।

लामो समय देखि मुखको क्यान्सर र दमबाट ग्रसित रहेका शर्माको काठमाडौं स्थित नर्भिक अस्पताल र चितवन क्यान्सर अस्पतालमा उपचार पछि आफ्नै घरमा अराम गरिरहेका थिए ।

शर्मा नेकपा माओवादी केन्द्र निकट जेष्ठ कम्युनिस्ट मञ्च लुम्बिनी प्रदेश कमिटी सदस्य, प्रगतिनगर शहरी खानेपानी सरसफाइ तथा उपभोक्ता समितिका अध्यक्ष, प्रगतिनगर बजार व्यवस्थापन समिति सिसहनियाँका संस्थापक अध्यक्ष, भालुवाङ नगरविकास समितिको अध्यक्ष, राप्ती गाउँपालिका चेमवर अफ कमर्सका सल्लाहकार रहेका थिए । मृतक शर्माका २ छोरा र २ छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे