राप्तीको विकट ९ नम्बर वडामा सामाजिक सुरक्षा भत्ता वितरण, जेष्ठ नागरिकहरु खुसी



भालुवाङ ६ माघ । दाङको राप्ती गाउँपालिकाले विटक गाउँहरुलाई लक्षित गरि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । राप्ती गाउँपालिका ९ नम्बर वडा कार्यालयले ज्योति विकास बैंक मौरीघाट शाखा सँगको समन्वयमा शुक्रवार वडा नम्बर ९ को रुपाकोटमा पुगेर दोस्रो त्रेमासिक सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।वडा बाटै भत्ता वितरण हुन थालेपछि जेष्ठ नागरिक, अपाङगता भएका र एकल महिलाहरु समेत खुसी भएका छन् । सामाजिक सुरक्षा भत्ता बुझ्न पुगेका स्थानीय घर छेउबाटै सेवा पाएपछि खुसीले गदगद भएका छन् । उनीहरूको मुहारमा मुस्कान समेत भरिएको देखिन्थ्यो ।
रुपाकोट निवासी ७८ बर्षीय रवि मियाँले वडाबाटै भत्ता वितरण सुरु भएपछि आफूलाई निकै खुसी लागेको बताए । उनले बैङ्कमा लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति मिलेको बताए ।

७ किलोमिटर हिडेर मौरीघाट जानुपथ्र्यो अव वडाबाटै भत्ता वितरण हुन थाल्यो मलाई निकै खुसी लागेको छ उनले भने, उनी जस्तै सोही ठाउँ निवासी ९४ बर्षीय कमरा कामीले वडाबाटै सामाजिक सुरक्षा भत्ता पाउने भएपछि आफूहरू जस्तो बृद्धबृद्धालाई निकै सहज भएको बताए । बैंकमा जाँदा लामो लाइनमा बस्नु पथ्र्यो कहिले काही पालो नआउँदा आर्को दिन गएर भत्ता बुझिन्थ्यो अहिले धेरै सजिलो भयो । अव यसरी नै वडाबाट भत्ता बाड्ने हो भने हामीलाई सहज हुन्थ्यो उनले भने ।

सामाजिक सुरक्षा भत्ता वितरण रहेका वडा अध्यक्ष रिमबहादुर सुनारीले ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूलाई बैङ्कमा घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको बताए । उनले आफूहरूले निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुरुप नागरिकको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको बताएका हुन् ।ज्योति विकास बैंक मौरीघाट शाखाका प्रबन्धक प्रकाश जिसीले वडा नम्बर ९ का ७५ जना जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको जानकारी दिएका छन् । राप्ती गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका प्रमुख नारायण आर.सी का अनुसार हाल ६८ वर्ष उमेर पुगेका जेष्ठ नागरिकले मासिक ४ हजारका दरले, ६० वर्ष उमेर पुगेका दलित जेष्ठ नागरिकले मासिक २ हजार ६ सय ६०, एकल महिला तथा विधुवाले मासिक २ हजार ६ सय ६०, पुर्ण अपाङगता भएकाहरुले मासिक ३ हजार ९ सय ९०, अति अशक्त अपाङगता भएकाहरुले मासिक २ हजार १ सय २८ र दलित बालबालिकाले मासिक ५ सय ३२ रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् ।
भत्ता वितरण कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगर, वडा सदस्यहरु दधिबहादुर बराल, अमिना खातुन, तारा विक, अलि मोहम्मद मियाँ, राप्ती गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका प्रमुख नारायण आर.सी, ज्योति विकास बैंक मौरीघाट शाखाका प्रबन्धक प्रकाश जिसी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे