सभामुखमा एमालेका घिमिरे १ सय ६७ मतसहित निर्वाचित



सभामुखमा एमालेका घिमिरे १ सय ६७ मतसहित निर्वाचित

काठमाण्डाै ५ माघ ।  प्रतिनिधि सभाकाे सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।  बिहीवार बसेको संसद् बैठकले घिमिरेलाई सभामुखमा निर्वाचित गरेको हो ।

मत विभाजनमा घिमिरेकाे पक्षमा एक सय ६७ मत खसेकाे छ । उनका विपक्षमा एक सय मत खसेकाे छ । यस्तै एक सांसद तटस्ठ रहेका थिए । दुई सय ७५ सदस्यीय सभामा आज दुई सय ६८ जना सांसद उपस्थित रहेका थिए । बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले घिमिरेलाई सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् ।

सत्ता गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार घिमिरेलाई सभामुखमा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए । यस्तै उनकाे समर्थकमा नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने थिए ।

सभामुखका लागि नेपाली कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने प्रतिस्पर्धामा थिइन् । उनकाे प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका थिए । सभामुख निर्वाचित भएपछि घिमिरेले सभाको प्रतिनिधित्व आफूले ठिक ढङ्गबाट गर्ने बताए । उनले विगतबाट शिक्षा लिँदै संसद्लाई चुस्त बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे