लुम्बिनीमा सत्ता गठबन्धन तर्फ नागरिक उन्मुक्तिको असन्तुष्टि, उपसभामुखमा उम्मेदवारी दर्ता



भालुवाङ २ माघ । लुम्बिनी प्रदेश सरकार गठनमा देखिएको पेचिलोपन सभामुख र उपसभामुख चयनमा पोखिएको छ। दुई दल र  दुई स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता लिला गिरी माथि दबाब सिर्जना गर्न नागरिक उन्मुक्ति पार्टीले उपसभामुख पदमा उम्मेदवारी दिएको छ।

सत्तारुढ दलको तर्फबाट सभामुख र उपसभामुख मनोयन गर्न नागरिक उन्मुक्ति पार्टीका सांसद देखिएनन्। सत्तारुढ दलको मनोनयन सकिएको केही घण्टापछि नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता धर्म चौधरी दुई जना सांसद सहित उपसभामुख मनोयन गर्न पुगे।उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारुको मनोयन दर्ता भयो। उनको प्रस्तावकमा सचेतक नरमाया ढकाल र समर्थकमा संसदीय दलका नेता धर्मबहादुर चौधरी छन्।

‘राष्ट्रपति, उपराष्ट्रपतिदेखि सभामुखसम्मको निर्वाचनमा गठबन्धनभित्र राम्रो गृहकार्य भएको देखिन्न, हाम्रो न्यायको मुद्दालाई हामीले छाड्दैनौँ,’ सचेतक नरमाया ढकालले भनिन्,‘प्रदेशमा पनि हाम्रो उपस्थितिलाई तर्साउन उपसभामुखमा मनोयन दियौँ।’ सभामुखमा एक जना र उपसभामुखमा तीन जनाको मनोयन दर्ता भएको छ। सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीको एकल मनोयन दर्ता भएको हो।

घर्तीको एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकाल प्रस्तावक बसेका छन् भने राप्रपा संसदीय दलका नेता आशिष चौधरी समर्थक छन्। भोली बस्ने प्रदेश सभाको बैठकमा निर्णयार्थ पेश हुने छ। उपसभामुखमा तीन जनाको मनोयन दर्ता भएको छ। सत्तारुढ दलको तर्फबाट राप्रपाकी मेनुका केसी खाँडको मनोयन दर्ता भएको छ। उनको प्रस्तावकमा माओवादी नेता तथा प्रदेश सभा सदस्य इन्द्रजीत थारु र समर्थकमा जनमत पार्टी संसदीय दलका नेता चन्द्रशेक गुप्ता छन्। खाँड गुल्मी जिल्लाबाट समानुपातिकबाट निर्वाचित भएकी हुन्।

उपसभामुखमा नेपाली कांग्रेसका विश्वप्रेम पाठकको मनोनयन दर्ता भयो। पाठकको प्रस्तावकमा कांग्रेसका नेता तथा प्रदेश सभा सदस्य बसिउद्दीन खाँ र प्रदेश सभा सदस्य राजु खनाल समर्थक छन्। नेकपा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४–४, जसपा, जनमत, लोसपाका ३–३ र दुई स्वतन्त्र सांसदहरूले सरकारलाई समर्थन गरेका छन्। प्रदेश सभामा २७ सांसद रहेको नेपाली कांग्रेस, १ सांसद रहेको नेकपा एस र जनमोर्चा गरी २९ जना विपक्षमा छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे