लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज राप्ती उपत्यका देउखुरीमा सपथ ग्रहण गर्दै



लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज राप्ती उपत्यका देउखुरीमा सपथ ग्रहण गर्दै

भालुवाङ २८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बिहीबार पद तथा गोपनीयताको सपथ लिने भएका छन्। प्रदेश प्रमुखको कार्यालयले लुम्बिनी प्रदेशसभा परिसर राप्ती उपत्यका देउखुरीमा आज दिउँसो १ बजे उनकाे पद तथा गोपनीयताको शपथ ग्रहण समारोहकाे आयाेजना गरेकाे हाे ।

नेपालको संविधान धारा १७२ बमोजिम मुख्यमन्त्री र मन्त्रीले प्रदेश प्रमुख समक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले मुख्यमन्त्री समक्ष आफ्नो कार्यभार सम्हाल्नुअघि प्रदेश कानुन बमोजिम पद तथा गोपन‍ीयताको शपथ लिनुपर्ने उल्लेख छ। हिजाे बुधबार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यस्तै, आजै ३ देखि ५ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी छ। एमाले, माओवादी र अन्य साना दलहरूको सहभागितामा सानो आकारकाे मन्त्रिमण्डल गठन गर्ने नवनियुक्त मुख्यमन्त्री गिरीकाे तयारी छ। एमाले र माओवादीबाट एक-एक जना गरी दुई जनाले मन्त्रीको शपथ लिनेगरी छलफल अघि बढेको छ। बाँकी दलबाटसमेत मन्त्री बन्नेहरूको बारेमा सत्ता गठबन्धनभित्र छलफल चलिरहेको छ।

एमालेबाट भूमिश्वर ढकाल र माओवादीबाट संसदीय दलका नेता जोखबहादुर महरा मन्त्री बन्ने पक्कापक्की जस्तै भएको बैठकमा सहभागी एक प्रदेशसभा सदस्यले बताए।  तर, माओवादीभित्र सरकारमा सहभागी हुन सबैजसो प्रदेश सभा सदस्य आकांक्षी छन्। यसले गर्दा आन्तरिक रूपमा व्यवस्थापन गर्न जटिल बन्न थालेको छ। एमाले र अन्य दलभित्र पनि आकांक्षीको लिस्ट लामै छ।

भूमिश्वर ढकालले भौतिक पूर्वाधार र जोखबहादुर महराले अर्थ या आन्तरिक मामिला मन्त्रालय मध्य एउटा मन्त्रालयको जिम्मेवारी पाउने छन् । महराले अर्थमन्त्रालय पाउनुपर्ने दाबी छ ।  माओवादीमा दोस्रो कार्यकालमा समेत निर्वाचित र मन्त्री भइसकेका इन्द्रजीत थारू, नमुना केसी‍समेत मन्त्रीको आकांक्षी छन् । एमालेबाट चेतनारायण आचार्य पनि मन्त्री बन्ने लाइनमा छन् । अघिल्लो पटक आचार्य मन्त्री भइसकेका मध्य पर्छन् । यस पटक उनलाई मन्त्री बनाउनेसमेत तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे