सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा एमालेका रावल र कर्णालीकाे मुख्यमन्त्रीमा माओवादीका शर्मा नियुक्त



सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा एमालेका रावल र कर्णालीकाे मुख्यमन्त्रीमा माओवादीका शर्मा नियुक्त

काठमाण्डाै २७ पुस । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्रसिंह रावल नियुक्त भएका छन् । एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाकाे एक गरी २९ जना सांसदको समर्थन पाएका रावललाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

बुधवार बिहानै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरिएको भए पनि एमाले नेतृत्वको सत्तारूढ गठबन्धनको प्रमुख घटक नागरिक उन्मुक्ति पार्टीले निर्णय लिन ढिला गरेको थियो । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइसहितका मुद्दा सम्बोधन गरेको अवस्थामा मात्र सरकारलाई समर्थन गर्ने अडान लिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको आश्वासनपछि अन्तिम अवस्थामा नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको हो ।

यता कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता राजकुमार शर्माले भएका छन् । माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपाका एक र नेकपा एकीकृत समाजवादीका एक जना गरी २५ जना सांसदको समर्थनमा शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई बुधवार प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कर्णाली प्रदेशमा ४० जना सांसद रहेका छन् । कर्णालीमा माओवादी केन्द्र र एमालेबीच साढे दुई वर्षका दरले प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको छ । माओवादी पोलिटब्युराे सदस्य शर्मा गएकाे मङ्सिर ४ गते भएकाे चुनावमा रुकुम पश्चिम प्रदेश सभा (ख) बाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे