भाेली देखि सुरु हुने सङ्घीय संसद्को पहिलो अधिवेशनको तयारी पूरा



भाेली देखि सुरु हुने सङ्घीय संसद्को पहिलो अधिवेशनको तयारी पूरा

काठमाण्डाै २४ पुस । पुस २५ गते भाेली साेमवार दिउँसाे १ बजेका लागि आह्वान गरिएको सङ्घीय संसद्को पहिलो अधिवेशनको तयारी पूरा भएको छ ।

सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सङ्घीय संसद्को पहिलो अधिवेशनको सबै तयारी पूरा भएको जानकारी गराएका हुन् । आइतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै सहायक प्रवक्ता धमलाले अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राधिविक पक्षका सबै काम पूरा गरिएको बताए ।

राष्ट्रिय सभा

सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक भोली एकसाथ बस्दैछ । प्रतिनिधि सभा बैठकका लागि सर्वदलीय बैठक र राष्ट्रिय सभा बैठकका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर पहिलो अधिवेशनका लागि आवश्यक निर्णय गरिएको र त्यही बैठकको निर्णय अनुसार सङ्घीय संसद् सचिवालयले आवश्यक व्यवस्था मिलाएको उनकाे भनाइ थियाे ।

सङ्घीय संसद् सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको पनि जानकारी गराएको छ । तर ठाउँ अभावका कारण सबै दलका संसदीय दलका नेतालाई पहिलो लहरमा राख्ने गरी सिटको व्यवस्था भने गर्न नसकिएको सहायक प्रवक्ता धमलाले बताए । सङ्घीय संसदमा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व रहेको छ ।

अधिवेशनमा सबै दलका संसदीय दलका नेताले बोल्ने कार्यसूची तय गरिएको छ । सङ्घीय संसदमा सांसदले पनि विद्युतीय हाजिरी गर्ने व्यवस्था मिलाइएको छ । विद्युतीय हाजिरी भोलिदेखि परीक्षणका लागि राष्ट्रिय सभामा सुरु हुने र परीक्षणपछि दुवै सदनमा त्यसलाई लागू गर्ने योजना तय गरिएको पनि सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे