राप्ती गाउँपालिकाको माछीताल र बाहुनीपाटामा सोलार सिँचाई तथा खानेपानीको अनुगमन



राप्ती गाउँपालिकाको माछीताल र बाहुनीपाटामा सोलार सिँचाई तथा खानेपानीको अनुगमन

भालुवाङ ८ पुस । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ को माछीताल र वडा नं.२ को बाहुनीपाटा गाउँमा सोलार सिस्टमबाट सिँचाई उपलब्ध गराइएको छ । राप्ती गाउँपालिका कार्यालय र नामसालिङ सामुदायिक विकास केन्द्रको सहकार्यमा सोलार सिस्टमबाट खानेपानी तथा सिँचाईको व्यवस्था गरिएको हो ।

वडा नम्बर १ र २ का विकट बस्तीमा सिँचाई र खानेपानीको सहज सेवा दिने उद्देश्यले सोलार लिफ्टिङ खानेपानी तथा सिँचाई आयोजना निर्माण गरिएको हो । निर्माण सम्पन्न भएको माछीताल र बाहुनीपाटाको सोलार लिफ्टिङ सिंचाई र निर्माणको अन्तिम चरणमा रहेको सिख्रेको खानेपानी तथा सिंचाई योजनाको शुक्रबार स्थलगत अनुगमन समेत गरिएको छ ।

माछीताल र बाहुनीपाटाको सिंचाई आयोजना निर्माण अवलोकन पछि राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले नागरिकको सेवाका लागि सिंचाई व्यवस्था गरिएपछि खेतीपातीमा सहजता ल्याउँदै जीवनस्तरमा सुधार आउने र आयआर्जनका लागि सास्ती भोग्न नपर्ने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष विष्टले माछीताल र बाउन्नेपाटा सुक्खा क्षेत्र भएपनि सोलार सिंचाईले गहुँ, मकै, तरकारी उत्पादन तथा सरसफाइमा समेत सहज हुने बताएका छन् ।

सिंचाई तथा खानेपानीको क्षेत्रमा काम गर्दै आएको नामसालिङ सामुदायिक विकास केन्द्र दाङका प्रमुख शशांक आचार्यका अनुसार वडा नं. १ को माछितालमा नामसालिङको ८ लाख, राप्ती गाउँपालिकाको ९ लाख तथा स्थानीय उपभोक्ताको ३ लाख गरी कुल २० लाखको लागत साझेदारीमा सौर्य ऊर्जामा आधारित सिंचाई योजना सम्पन्न भएको हो । त्यस्तै वडा नं. २ को बाहुनीपाटामा नामसालिङको १९ लाख, राप्ती गाउँपालिकाको १५ लाख, तथा स्थानीय उपभोक्ताको ४ लाख गरी कुल ३८ लाख लागत साझेदारीमा सौर्य सिंचाई योजनाको काम सम्पन्न भएको छ ।

अटोमेटिक सोलार सिस्टमबाट पानी सञ्चालन हुने प्रविधि मार्फत खानेपानी वितरण गरिने प्रमुख आचार्यले जानकारी दिएका छन् । केन्द्रले पालिकामा जलवायु अनुकूलित गाउँ कार्यक्रम अन्तर्गत समुदायलाई सौर्य पम्पमा आधारित सिंचाई तथा खानेपानी, विभिन्न ऊर्जा, श्रम तथा खाद्य तत्व मैत्री कृषि प्रविधि, ऊर्जा तथा श्रम मैत्री सिंचाई, प्लास्टिक घर खेती प्रविधि, बायो ग्यास चुलो, सुधारिएको धुवाँरहित चुलो, साना कृषि यन्त्र, लगायतमन सहयोग पुर्याउदै आइरहेको छ ।

सन् २०१७ देखि सुरु भएको चार बर्षे परियोजना सन् २०२० मा सम्पन्न गरी दोस्रो चरणको कार्यक्रम अन्तर्गत राप्ती गाउँपालिकामा कार्यक्षेत्र विस्तार गर्दै २०२१ देखि नयाँ ५ वर्षे परियोजना सञ्चालन गरिएको छ । जसमा विशेष गरी कृषि, पशुपालन, अन्य आयआर्जनका कृयाकलाप, खानेपानी, सिचाई आदि जस्ता क्षेत्रमा गाउँपालिका संग समन्वय गरी कार्यक्रम सञ्चालन भइरहेको छ । नामसालिङ सामुदायिक विकास केन्द्रको प्रमुख लक्ष्य एकीकृत समुदायिक विकासको माध्यमबाट ग्रामिण जनताको जिवनस्तर उकास्नु रहेको केन्द्रका प्रमुख आचार्यले बताएका छन् ।

ती दुवै आयोजनाको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, वडा नं.१ का वडाध्यक्ष गेमबहादुर खड्का, वडा नं.२ का पूर्व वडाध्यक्ष जगतबहादुर थापा, पुर्व वडा सदस्य बसन्त नेपाली, प्राविधिक शाखा प्रमुख अशोक बेल्बासे, पशुपन्छी विकास शाखाका दामोदर आचार्य, कार्यपालिका सदस्य चम्फा भुसाल, कार्यपालिका सदस्य रणबहादुर पुजाली, योजना शाखाकी विमला भट्टराई, खानेपानी तथा सरसफाई शाखा प्रमुख गीता चौधरी, नामसालिङ दाङका कार्यक्रम संयोजक शशाङ्क आचार्य, फिल्ड सुपरभाइजर धर्म यादव, प्रेस परामर्शदाता तुलबहादुर कवँर मगर लगायतको टोलीले अनुगमन गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे