स्याङ्जा, दोलखा र गोरखाका १० बढी केन्द्रमा पुनः मतदान गर्न एमालेको माग



स्याङ्जा, दोलखा र गोरखाका १० बढी केन्द्रमा पुनः मतदान गर्न एमालेको माग

काठमाडौं ५ मंसिर । नेकपा एमालेले स्याङ्जा, दोलखा र गोरखाका १० भन्दा बढी केन्द्रमा पुनः मतदान गर्न माग गरेको छ । सोमबार कार्यालय सचिव डा. भीष्म अधिकारीले विज्ञप्ति जारी गर्दै ती केन्द्रमा पुनः मतदान गर्न माग गरेका हुन् ।

स्याङ्जा-२ को चापाकोट नगरपालिकाका चारवटा मतदान केन्द्रमा सत्ता गठबन्धनले कब्जा गरी फर्जी मत खसालेको एमालेको आरोप छ । यस्तै दोलखाको तामाकोशी गाउँपालिका-२ जफेको कालापानी, जामुने, मालु लगायतका केन्द्रमा पनि सत्ता गठबन्धन दलका कार्यकर्ताले बुथ कब्जा गरेको एमालेको दाबी छ ।

गोरखाका दुवै निर्वाचन क्षेत्रका विभिन्न मतदान केन्द्रमा मृतक र अनुपस्थित मतदाताहरूको नामबाट मतदान गरी व्यापक धाँधली भएको पनि एमालेको आरोप छ । ‘त्यहाँ मृतक र अनुपस्थित मतदाताका नाममा मतदान रोक्न खोज्दा हाम्रो पार्टीका मतदान प्रतिनिधिहरूमाथि हातपात गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

गोरखा क्षेत्र नम्बर १ को विन्द्रावती मावि मसेल, बालकल्याण आधारभूत विद्यालय फुस्रेमाटा, आरुघाट गाउँपालिका-१ मान्वु, धार्चे-३ को पार्वती आधारभूत विद्यालयमा पुनः मतदान हुनुपर्ने एमालेको माग छ । गोरखा क्षेत्र नम्बर २ अन्तर्गत सिरानचोक गाउँपालिकाको सरस्वती आधारभूत विद्यालय, वारपाक सुलीकोट गाउँपालिकाको हिमालय मावि सौरपानी, सूर्योज्योति मावि ताकु मतदान केन्द्रमा पनि पुनः मतदान गर्न एमालेले माग गरेको छ । यस्तै बाजुराको त्रिवेणी नगरपालिका-७ घर भएका अनेरास्ववियूका केन्द्रीय सचिवालयका सदस्य चेतन अयडीको सत्ता गठबन्धनका कार्यकर्ताले हत्या गरेको आरोप लगाउँदै एमालेले कारवाहीको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे