मंसिर ४ पछि जनता आफैले एमालेको सरकार बनाउँछन् : महासचिव पोख्रेल



मंसिर ४ पछि जनता आफैले एमालेको सरकार बनाउँछन् : महासचिव पोख्रेल

घोराही ५ कार्तिक । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले वर्तमान सत्ता गठबन्धनको निरन्तरता या एमालेको सरकार अबको मंसीर ४ गतेको निर्वाचनमार्फत जनताले आफै छिनोफानो गर्ने बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठन दाङद्वारा प्रकाशित नेगो स्मारिका दाङ २०७९ को विमोचन तथा सम्मान कार्यक्रम एवम् दीपावली, नेपाल सम्वत्, छठ, ईद पर्व २०७९ को पावन अवसरमा शनिबार घोराहीमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा बाेल्दै महासचिव पाेख्रेलले उक्त कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथिकाे अासनबाट सम्बोधन गर्दै महासचिव पोख्रेलले गठबन्धन जनताको पक्षमा नरहेको र सत्ता स्वार्थमा निहित भएकाले जनताले मतदानमार्फत एमालेलाई न्याय दिने विश्वास व्यक्त गरे ।

स्मारिका विमोचन गर्दै उनले परमादेशको जगमा स्थापित गठबन्धनले सरकारले सत्ता सम्हालेपछि सम्पादन गरेका कामले उनीहरुको स्वार्थ के कुरामा केन्द्रित छ भन्ने प्रष्ट भएकाले जनताले अब सरकारको कार्यभार कुन दलको हातमा सुम्पने भन्ने निर्णय गर्ने बताए ।

उनले ‘देशको परिस्थिती अनुसार दलहरुबीच वैचारिक एकता गरेर सरकारमा सामेल हुने कुरालाई अन्यथा मान्न त सकिँदैन तर देश र जनताको भविष्य नै पछाडि धकेल्ने गरी सत्ता स्वार्थमा केन्द्रित हुने अहिलेको गठबन्धन जस्तो अबको सरकार फेरि बनोस् भन्ने पक्षमा जनता छैनन्,’ उनले भने, ।

‘उनले गठबन्धन या एमाले रोज्नु पर्दा पक्कै पनि जनताको आवाज अहिलेको सरकार संचालन गर्दै आएका गठबन्धनका पक्षमा छैन भन्ने लाग्छ ।’ देशमा अब दुई दलीय ध्रुवीकरण आवश्यक रहेको चर्चा गर्दै एउटा दलको नेतृत्व कांग्रेसले गर्ने र अर्को दलको नेतृत्व एमाले हुने बताए ।

महासचिव पाेख्रेलले कांग्रेसले कसकसलाई बोकेर हिड्छ भन्ने कुराको छिनोफानो पनि मंसीर ४ गतेको आम निर्वाचनको परिणामले तय गर्ने बताए । एमाले पार्टी नेकपा विभाजनपछि नयाँ विचार र शक्ति उदयका साथ जनताको माझमा ताजा जनादेशका लागि आएको हुँदा जनताको साथ र हौसलाले देशमा शासन गर्दै समृद्धि, विकास र लोकतन्त्रको रक्षामा अघि बढ्ने उनको भनाई थियो ।

सो अवसरमा, संगठनको गतिविधिलाई केन्द्रित गर्दै उनले संस्थाको पलहमा पहिलो अंकका रुपमा रहेको नेगो स्मारिका एक ऐतिहासिक काम भएको बताए । महासचिव पोख्रेलले राज्य संचालनको अहम् भुमिका खेल्दै आएका निजामती कर्मचारीहरुको हकहितका लागि स्थापित संगठनले ठूलो योगदान गर्दै आएको बताए ।

यस्तै उनले निजामती कर्मचारीहरुको निरन्तरको दवावमा संघीय निजामति सेवा ऐन सुव्यवस्थित रुपमा आउने विश्वास दिलाउनुभयो । यसका लागि आगामी मंसिर ४ गतेपछि अघि बढ्ने विश्वास दिलाए ।

संगठनका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता एवम् नेकपा एमालेका महासचिव पोख्रेलको प्रमुख आतिथ्य एवम् संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ न्यौपानेको विशिष्ट आतिथ्यमा शनिबार घोराहीमा कार्यक्रम गरिएको हो ।

संस्थाका उपाध्यक्ष शिवराज न्यौपानेको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण संगठनका सचिव बाबुराम न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे