ज्योती विकास बैंकद्वारा माैरीघाट बजार व्यवस्थापन समितिलाई सडक बत्ती हस्तान्तरण



ज्योती विकास बैंकद्वारा माैरीघाट बजार व्यवस्थापन समितिलाई सडक बत्ती हस्तान्तरण

भालुवाङ ५ कार्तिक । दिपावली तथा छठ पर्वलाई मध्यनजर राखि उज्यालो माैरीघाट बनाउने उद्देश्यले दाङको एक बैंकले स्थानीय बजार व्यवस्थापन समितिलाई सडक बत्ती हस्तान्तरण गरेको छ ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाट श्रीनारायणचोकमा रहेको ज्योती विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत माैरीघाट बजार व्यवस्थापन समितिलाई शनिबार एक कार्यक्रमको आयोजना गरि ३६ हजार रूपैयाँ बराबरको ६ थान डिजिटल सडक बत्ती हस्तान्तरण गरेको छ । बैंकका म्यानेजर प्रकाश जिसीले बजार व्यवस्थापन समितिका अध्यक्ष बेगमबहादुर बस्नेतलाई सो सडक बत्ती हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएको बत्ती आइतबार वा सोमबार माैरीघाट बजार क्षेत्रमा जडान गरिने भएको छ ।

माैरीघाट बजार व्यवस्थापन समितिका अध्यक्ष वेगमबहादुर बस्नेत अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य विष्णु पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले सडक बत्ती जडान भएमा चार्डपर्व र अघिपछि समेत हुने गरेको चोरी, डकैती केही हदसम्म रोकथाम हुने र बटुवाहरूलाई रातिको समयमा हिडडुल गर्न सहज हुने बताएका थिए । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत गरेको काम प्रति वक्ताहरूले धन्यवाद समेत दिएका थिए ।

राप्ती उद्योग वाणिज्य संघ भालुवाङका उपाध्यक्ष प्रेमबहादुर केसी, ज्योती विकास बैंकका म्यानेजर प्रकाश जिसी, प्रहरी चाैकी मसुरीयाका प्रमुख निमबहादुर खत्री, समितिका सल्लाहकार शंकर गाैतम, सर्वहित साकोसका निर्वतमान अध्यक्ष राजेन्द्र चाैधरी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । माैरीघाट बजार व्यवस्थापन समितिका सदस्य शरद गिरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य रोशन चाैधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे