देउखुरीमा बाढीले अरबाैकाे क्षति गरेकाे नागरिक समाजकाे प्रारम्भिक ठहर



देउखुरीमा बाढीले अरबाैकाे क्षति गरेकाे नागरिक समाजकाे प्रारम्भिक ठहर

घोराही २५ असोज । वर्षापछि आएकाे बाढीले देउखुरीका ४ पालिकामा ठूलो मात्रामा भौतिक क्षति गरेकाे नागरिक समाज दाङले ठहर गरेको छ । वर्षाका कारण घर र खेतबारीमा बाढी पस्दा क्षति भएको ५ दिन बितिसक्दा पनि स्थानीय पालिकाले अहिलेसम्म पीडितको लगत संकलन गर्न नसकेको हुँदा उद्धारपछिको राहत सहयोगमा पनि ढिलाई भएको पाईएको समाजले जनाएको छ ।

बाढीका कारण भएको क्षति बारे स्थलगत रुपमा पीडितका आवाज सुन्न र यथार्थ बस्तुस्थिती बारे जानकारी लिन मंगलबार समाजका जिल्ला संयोजक केबी मसालको नेतृत्वमा देउखुरीका ४ वटै पालिकामा पुगेको टोलीले ठूलो मात्रामा भौतिक क्षति व्यहोरेकाे ठहर गरेको हो । समाजका अनुसार देउखुरीमा मात्रै १० हजार भन्दा बढी नागरिक प्रभावित हुनुका साथै अर्बौको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ ।

असाेजकाे १९, २० र २१ गतेकाे वर्षापछि आएकाे बाढीले जिल्लाको लमही, राजपुर, गढवा र राप्ती गाउँपालिकाका विभिन्न वडामा गरेकाे क्षति बारे जानकारी लिन पुगेकाे टाेलीले पालिका स्तरबाट भईरहेको पछिल्लो प्रयासका बारेमा पनि समाजले चासो लिएको थियो । सो अवसरमा राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपति यादवले पालिका स्तरमा लगत संकलनका काम भईरहेको बताइन् । उनले केही सामाजिक संघसंस्थाको पहलमा अति आवश्यक भएकाहरुलाई केही सहयोग गर्नु बाहेक थप सहयोग गर्न नसकेको हुँदा माथिल्लो तहबाट सहयोगको अपेक्षा गरिन् । उनका अनुसार, बाढीबाट बढी मात्रा प्रभावित भएकाहरु पालिकाको पहलमा सामुदायिक विद्यालयमा स्थानान्तरण गरिएका छन् ।

तत्काल खाने बस्ने व्यवस्था पालिकाले मिलाएको बताउँदै उनले गंगदी र जंग्रहवा स्कुलमा बाढी पीडितलाई बसालिएको बताइन् । राजपुरमा ६ सय घरपरिवार प्रत्यक्ष प्रभावित भएको जानकारी गराउँदै उनले उद्धारपछिको राहत वितरण गर्ने श्रोतको समस्या भएको बताइन् । यस्तै, गढवा गाउँपालिकाको वडा नम्बर २ र ५ का स्थानीय पनि बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन् । सो वडाका नागरिकको बस्ने खाने समेत समस्या भएपछि तत्कालका लागि सामुहिक मेस चलाएको गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलले बताए ।

उनका अनुसार लोखरपुरुवाका ९५ जना, महदेवा र डाँडागाउँमा २ सय जनालाई मेस चलाएर खाने व्यवस्था मिलाएको बताए । यस्तै, बाढीका कारण नमुना प्रावि पचहिया र प्रावि महदेवाको भौतिक संरचना पूर्ण रुपमा क्षतिभएकाले पठनपाठन कसरी संचालन गर्ने भन्ने समस्या थपिएको बताए । सबै वडा बाढीबाट प्रभावित भएपनि कति घरपरिवार प्रभावित भएका छन् भन्ने बारे यकिन विवरण संकलन भई नसकेको भएपनि ठूलो मात्रामा सहयोग आवश्यक पर्ने हुँदा पालिका एक्लैले धान्न नसक्ने उनले बताए ।

धान बालीमा भएको नोक्सानी बारे लगत लिन कृषि शाखाले काम अघि बढाएको तथा पशुपंक्षीको क्षति बारे पशु शाखाले काम अघि बढाएको हुँदा क्षतिको यकिन विवरण संकलनमा ढिलाई भएको बताए । प्रारम्भिक जानकारी अनुसार ठूला क्षतिको अुनमान गरिएकाले प्रदेश र संघ सरकार, सहयोगी दाताको अपेक्षा गरेको बताए । लमही नगरपालिकाको विभिन्न वडामा पुगेर बाढीले पारेको प्रभाव बारे जानकारी लिनुका साथै उद्धार र राहतमा अहिलेसम्म भएका प्रगतिका बारेमा जानकारी लिईएको थियो ।

सो अवसरमा, लमही नगरपालिका वडा नम्बर ७ हसनापुरका सत्यनारायण चौधरीले गाउँमा बाढी पस्दा ठुलो क्षति भएको बताए । उनले काट्नका लागि तयार भएको करीव २० विगाहाभन्दा बढी धान काट्न नमिल्ने भएको छ । सो गाउँका गणेशराम चौधरी, लिला श्रेष्ठ, जयप्रकाश चौधरी, हरिप्रसाद चौधरी, रामबीर चौधरीलगायतको घरमा बाढी पस्दा भत्किएको छ । सो पालिकाको वडा नम्बर ८ सतबरीयाका छेदिराम चौधरीको घर डुब्दा सबै क्षति भएको छ । वर्षापछि आएको बाढीले घरमा रहेका सबै बगाएको लग्नुका साथै खानेकुरा पनि नभएपछि छिमेकीले दिएको चाउचाउ, बिस्कुट खाएर बस्नु परेको उनले बताए ।

गंगाराम चौधरीले २०१८ सालपछिको ठूलो बाढी आएको बताए । आफ्नो जीवन कालमा यति ठूलो बाढी पहिलो पटक देखेको बताए । राजपुर गाउँपालिका वडा नम्बर ६ गंगदीकी रानु चौधरीले पनि आफ्नो कच्ची घरमा बाढी पसेपछि केही बचाउन नसकेको बताए । धानले भरिएको डेहरी फुटेर धान बगाईदिएको, खानेकुरा लगायत केही नबचेपछि अहिले विद्यालयमा आएर पालिकाको हरण लिएको बताए ।

यस्तै गढवा गाउँपालिका वडा नम्बर २ महदेवाका रामगोपाल चौधरीले घरमा भएको अन्न लत्ता कपडा मात्रै नभई खोरमा बाँधिएका चौपाया समेत बगाएर लगिदिएको बताए । अहिले उनको खोर रित्तै छ । बाढीले पुर्याएको क्षतिको अवस्था बारे जानकारी लिँदै नागरिक समाजले स्थानीय सरकारलाई पीडितहरुको पीडामा मलम लगाउने काममा ढिलाई नगर्न सचेत गराएको छ । यस्तै, स्थानीय पालिकालाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर व्यवस्थित बस्ती विकासको काममा जुट्न अपिल पनि गरेको छ । स्थगलगत अनुगमनमा नागरिक समाजका देउखुरी संयोजक निमबहादुर थापा, देउखुरी सचिव बालमुकुन्द शर्मा यस्तै, जिल्लाका सदस्यहरु हरिप्रसाद पाण्डेय, पद्मप्रसाद शर्मा, छबिलाल कोपिला, दामोदर भण्डारी गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे