दाङमा प्रतिनिधिसभातर्फ ४४ र प्रदेशसभातर्फ ४६ जनाको उम्मेदवारी



दाङमा प्रतिनिधिसभातर्फ ४४ र प्रदेशसभातर्फ ४६ जनाको उम्मेदवारी

दाङ २४ असाेज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार देशभर उम्मेदवारी मनोनयन दर्ता गरिएको छ । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा सदस्यका लागि दुई हजार चार सय ५२ र तीन सय ३० प्रदेशसभा सदस्यका लागि तीन हजार तीन सय २६ जनाले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गर्ने व्यवस्था गरेको थियो ।

दाङमा पनि शान्तिपूर्णरुपमा मनोनयन दर्ता गरिएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले दाङमा प्रतिनिधिसभाका तीन सदस्यका लागि ४४ र प्रदेशसभाका छ सदस्यका लागि ४६ जनाको उम्मेदवारी परेको जनाएको छ । जसमा कुल १७ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । प्रतिनिधिसभातर्फ १० र प्रदेशसभातर्फ सातजनाको स्वतन्त्र उम्मेदवारी परेको हो । निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभाका लागि एक स्वतन्त्रसहित १२ जना, १ (१) मा नौजना, १ (२) मा छजनाको उम्मेदवारी परेको हो । यस्तै निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि तीन स्वतन्त्रसहित १५ जना र प्रदेशसभातर्फ २ (१) मा १ स्वतन्त्रसहित आठ र २ (२) मा पाँचजनाको उम्मेदवारी परेको हो । यस्तै निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभातर्फ छ स्वतन्त्रसहित १७ जना, प्रदेशसभातर्फ ३ (१) मा दुई स्वतन्त्रसहित नौ र ३ (२) मा चार स्वतन्त्रसहित नौजनाको उम्मेदवारी परेको छ ।

क्षेत्र नं. १ मा २७ जनाको मनोनयन

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङ क्षेत्र नं. १ मा २७ जनाको मनोनयन दर्ता भएको छ । राजनीतिक दल र स्वतन्त्र गरी २७ जनाको मनोनयन दर्ता भएको हो । नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा शान्ता चौधरीको उम्मेदवारी दर्ता भएको छ भने सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका नेता तथा शहरी विकास मन्त्री मेटमणि चौधरीले मनोनयन दर्ता गराउनुभएको छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस विपीबाट अशोक खड्का, हाम्रो नेपाली पार्टीबाट गंगा चौधरी (सत्गौवा), नेपाल मजदुर किसान पार्टीबाट गणेशभक्त खर्बुजा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज पाठकको उम्मेदवारी दर्ता भएको छ । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रतिमा बुढा मगर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटबाट रुक्मिणी चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लिली बुढाथोकी, मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट शोभाराम बुढा र स्वतन्त्रबाट चन्द्रमणि न्यौपानेको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेबाट गंगाराम भट्टराई, नेकपा माओवादी केन्द्रबाट इन्द्रजीत थारु, जनता समाजवादी पार्टीबाट जगतराम यादव, मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट खुमबहादुर गाहा मगर, हाम्रो नेपाली पार्टीबाट टंकबहादुर बिष्ट, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट दामोदर चौधरी, राष्ट्रिय जनमोर्चाबाट महेशचन्द्र रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मानबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जित चौधरीको मनोनयन दर्ता भएको छ । निर्वाचन क्षेत्र नं. १ को २ मा नेकपा एमालेबाट कुलबहादुर खत्री क्षेत्री, नेपाली कांग्रेसबाट अनुराग खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोरखबहादुर केसी, मंगोल नेशनल अर्गनाइजेशनबाट टिकलाल चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट भक्तिराम चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट राजकुमार विश्वकर्माको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिनुभएको छ ।

क्षेत्र नं. २ मा २८ जनाको मनोनयन दर्ता

दाङ निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा एक सिट र प्रदेशसभाका दुई सिटका लागि २८ जनाको उम्मेदवारी परेको छ । दाङ निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको छ । जसमा तीन स्वतन्त्र उम्मेदवार छन् भने १२ जनाको उम्मेदवारी पार्टीका तर्फबाट परेको छ । नेकपा एमालेको तर्फबाट पार्टीका महासचिव शंकर पोख्रेल, सत्तापक्षीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी पोलिट्व्यूरो सदस्य रेखा शर्मा, नेपाली कांग्रेस वीपीका गोविन्दप्रसाद शर्मा, नेकपा मालेका नेत्रप्रसाद पाण्डे, नेमकिपाका आशाराम वैद्य, मंगोल नेशनल अर्गनाइजेशनका खड्कबहादुर बुढा मगर, राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी, हाम्रो नेपाली पार्टीका शशीराम चौधरी, मौलिक जरो किलो पार्टीका रामचन्द्र खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका भोलानाथ योगी, नेपाल आमा पार्टीका गीता रावत र नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी हुनुहुन्छ । यसैगरी कृष्णबहादुर डाँगी, यमलाल जिसी र भुपनाथ अर्जेलले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

यसैगरी निर्वाचन क्षेत्र नं. २ को १ बाट एक स्वतन्त्र उम्मेदवारसहित आठजनाको उम्मेदवारी परेको छ । प्रदेशसभाका लागि नेकपा एमालेले बलिभद्र राना, सत्तापक्षीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजु खनाल, राप्रपाका गोपालबहादुर बेलबासे, मौलिक जरोकिलो पार्टीका नीमबहादुर बिक, नेपाल आमा पार्टीका वेगम पाण्डे, नागरिक उन्मुक्ति पार्टीका रामप्रसाद थारु र स्वतन्त्रबाट रेशमबहादुर चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसैगरी निर्वाचन क्षेत्र नं. २ को २ बाट प्रदेशसभाका लागि पाँचजनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा एमालेका गिरिराज केसी, नेपाली कांग्रेसका प्रचण्डविक्रम न्यौपाने, राप्रपाका उमाकान्त भण्डारी, मंगोल नेशनल अर्गनाइजेशनका राजबहादुर घर्ती मगर र नागरिक उन्मुक्ति पार्टीका ओमप्रकाश चौधरीले मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो ।

क्षेत्र नं. ३ मा ३५ जनाको मनोनयन

निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि १२ स्वतन्त्रसहित ३५ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक प्रतिनिधिसभा सदस्यका लागि १७ जना, दुई प्रदेशसभा सदस्यका लागि १८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । ३ (१) मा नौजना र ३ (२) मा नौजनाले मनोनयन दर्ता गराएका हुन् । प्रतिनिधिसभाका लागि नेकपा एमालेका केन्द्रीय सदस्य कोमल ओली, सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, राप्रपाका ओजबहादुर

खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी, राष्ट्रिय जनमुक्ति पार्टीका कृष्णवीर नेपाली, नागरिक उन्मुक्ति पार्टीका कुमार चौधरी, मंगोल नेशनल अर्गनाइजेशनका घनश्याम चौधरी, जनता समाजवादी पार्टी नेपालका देवीलाल डाँगी, लोकतान्त्रिक समाजवादी पार्टीका रणेन्द्रविक्रम केसी, नेपाल मजदुर किसान पार्टीका वीरबहादुर चौधरी र नेकपा मालेका शालिकराम चौधरीले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

यस्तै प्रतिनिधिसभाका लागि हेमन्तबहादुर मल्ल, लीलाधर न्यौपाने, भुपबहादुर भण्डारी, तिलक खड्का, टोपेन्द्र बस्नेत र घनश्याम डाँगीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै प्रदेशसभातर्फ ३ (१)मा नेकपा एमालेका तर्फबाट घनश्याम पाण्डे, सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी, राप्रपाका हंसराज केसी, नेपाल लोकतान्त्रिक पार्टीका सागर बिक, लोकतान्त्रिक समाजवादी पार्टीका वासुदेव रेग्मी, मंगोल नेशनल अर्गनाइजेशनका ज्ञानबहादुर पुन र राष्ट्रिय जनमुक्ति पार्टीका चहरमान थारुले उम्मेदवारी दिनुभएको छ । यस्तै माइते चौधरी र सुमन बस्यालले स्वतन्त्ररुपमा उम्मेदवारी दिनुभएको छ । यसैगरी निर्वाचन क्षेत्र नं. ३ (२) मा नेकपा एमालेका हुकुमबहादुर बस्नेत, सत्तारुढ गठबन्धनका तर्फबाट

नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की, राप्रपाका भुपाल रावत, लोकतान्त्रिक समाजवादी पार्टीका राजन डाँगी र मंगोल नेशनल अर्गनाइजेशनका सुशील चौधरीले उम्मेदवारी दिनुभएको छ । यस्तै भुपबहादुर बिक, दुर्गाबहादुर ओली, गणेशबहादुर बस्नेत र अमृताकुमारी बस्नेतले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

आज दाबी विरोध

निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन तालिकाअनुसार मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन आइतबार नै भएको छ भने उम्मेदवारको विरोधमा उजुरी दिने समय असोज २४ गते बिहान १० देखि अपरान्ह ३ बजेसम्म तोकिएको छ । मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय असोज २४ गते अपरान्ह ३ देखि २५ गते साँझ ५ बजेसम्म रहेको छ । यसैगरी उम्मेदवारको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न २६ गते दिउँसो १ देखि ३ बजेसम्म, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्न २६ गते अपरान्ह ४ देखि साँझ ७ बजेसम्म र मतदान आगामी मंसिर ४ गते बिहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ ।

यस निर्वाचनका लागि मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता संख्या छ । यसमा पुरुष मतदाताको संख्या ९१ लाख ४० हजार आठ सय छ, महिला मतदाताको संख्या ८८ लाख ४७ हजार पाँच सय ७९ र अन्य एक सय ८५ छ । निर्वाचनका लागि देशभर १० हजार आठ सय ९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।

२५ दलका ४९ उम्मेदवारको नाम बन्दसूचीमा

घोराही, २३ असोज (युस)–निर्वाचन आयोगले आइतबार समानुपातिकतर्फको बन्दसूचीमा रहेका नामावली सार्वजनिक गरेको छ । बन्दसूचीअनुसार समानुपातिकतर्फ ४७ दलका छ हजार चार सय ८० उम्मेदवार छन् । त्यस्तै प्रतिनिधिसभातर्फ ४७ दलका उम्मेदवारको संख्या दुई हजार चार सय तीन छ भने सात प्रदेशमा गरी कूल चार हजार ५७ जनाको नाम बन्दसूचीमा समावेश गरिएको छ ।

प्रतिनिधिसभातर्फ दाङबाट २५ दलका ४९ उम्मेदवारको नाम बन्दसूचीमा परेको छ । नेकपा एमालेको तर्फबाट मेनकाकुमारी पोख्रेल, शम्भुप्रसाद गौतम, हिरादेवी पुन, आश्माकुमारी चौधरी र साजिदा खातुन सिद्धिकीको नाम बन्दसूचीमा परेको छ । यसैगरी नेपाली कांग्रेसका योगेन्द्र चौधरी, सुशीला चौधरी र देवका नेपालीको नाम बन्दसूचीमा परेको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र) का नारायणी शर्मा र सुशीला चौधरीको नाम समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा परेको छ ।

यसैगरी जनता समाजवादी पार्टी नेपालबाट विजय पुन र गीता रसाइली, नेकपा एकीकृत (समाजवादी) बाट शिल्पा चौधरी, शारदाकुमारी विश्वकर्मा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट सत्यम पुन र शोभा डाँगी, जनमत पार्टीबाट राधाकुमारी यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जमुना विश्वकर्मा, शिलाकुमारी केसी, बेलमती विक र तृप्तिशिखा चौधरी, मितेरी पार्टी नेपालबाट पुष्पा अधिकारी रिजालको नाम बन्दसूचीमा समावेश गरिएको छ । त्यसैगरी मंगोल नेशनल अर्गनाइजेशनबाट बालकुमारी लामिछाने र पानफुली चौधरी, राष्ट्रिय जनमोर्चाबाट रश्मीराज नेपाली, प्रेमा जिसी र रामाधार यादव, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट सावित्रा कुमाल र समुन्द्री चौधरी, हाम्रो नेपाली पार्टीबाट अनन्तराज घिमिरे र कल्पना श्रेष्ठ रहनुभएको छ । त्यसैगरी नेपाल लोकतान्त्रिक पार्टीबाट नीमकुमारी छन्तेल, नेपाली जनता दलबाट समुन्द्र चौधरी, जनता समाजवादी पार्टी नेपालबाट पूर्णबहादुर बस्नेत, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट लीलाधर चौधरी रहनुभएको छ ।

नेपाली कांग्रेस बीपीबाट माया पोख्रेल, पिछडावर्ग निषाद दलित जनजाति पार्टीबाट फगुनी चौधरी, नेश्नलिष्ट पिपल्स पार्टीबाट कान्तबहादुर पौडेल र बिनु चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट हिंकलाल चौधरी, प्रभा चौधरी र रेशमबहादुर नेपाली, आमूल परिवर्तन मसिया पार्टी नेपालबाट सजना विश्वकर्मा रहनुभएको छ । राष्ट्रिय जनमुक्ति पार्टीबाट ठाकुर रोका, रविन्द्र उच्च नेपाली, कमला विक र याम कुमारी विश्वकर्माको नाम बन्दसूचीमा समावेश गरिएको छ । युगबाेधबाट साभार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे