अछाम शोकमा, पहिरो प्रभावित क्षेत्रमा आवश्यक राहत तथा व्यवस्थापनका लागि गृह मन्त्रालयसँग सहयोग माग



अछाम शोकमा, पहिरो प्रभावित क्षेत्रमा आवश्यक राहत तथा व्यवस्थापनका लागि गृह मन्त्रालयसँग सहयोग माग

काठमाण्डाै २ असाेज । पहिरोले २१ जनाको ज्यान गएपछि अछाम शोकमा डुबेको छ । तुर्माखाँद, कमलबजार र ढकारीमा पहिरोले २१ जनाको ज्यान गएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले पुष्टि गरेका छन् । तुर्माखाँद र ढकारीमा गरी दुई जना बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ ।

घटनामा घाइते भएका तीन जनाको सुर्खेत र तीन जनाको मङ्गलसेनमा उपचार भइरहेको छ । शुक्रवार राति खसेको पहिरोले घरभित्रै च्यापिएर मानवीय क्षति भएको हो । कमलबार, तुर्माखाँद र ढकारी आपसमा जोडिएका पालिका हुन् ।

शुक्रवार राति ठूलो पानी परेको र जमिन थर्केर पहिरो खस्दा केही घर पुरिएका तथा केही भत्काएका छन् । घरबारविहीन भएकाहरु कोही आफन्तकोमा र केहीलाई नजिकै सुरक्षित ठाउँमा राखिएको निमित्त प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

उनका अनुसार राहत र बसोबास व्यवस्थापनका लागि गृह मन्त्रालयसँग सहयोग माग गरिएको छ । अहिले पालिकाले विपद् कोषबाट आवश्यक व्यवस्थापन मिलाएका छन् । जिल्ला प्रशासन कार्यालयले पीडित परिवारलाई राहत पालिकाबाट उपलब्ध गराउन भनेको छ। पहिरोले ग्रामीण सडक बगाएको छ ।

पछिल्ला वर्ष पालिकाले खनेका सडकका कारण पनि पहिरोको जोखिम बढेको छ । मापदण्ड र प्रक्रिया नपुर्याइ खनिएका सडकले पहिरोको जोखिम बढाएका अछामका निमित्त प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

ठाउँठाउँमा पहिराे गएपछि कर्णाली राजमार्ग अवरुद्ध

यता निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कालीकोट खाडाचक्र नगरपालिका–५ मौलाकाटीमा  माथिबाट ढुङ्गा र माटोसहितको पहिरो आएर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हाे ।

यसैगरी दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ रामाघाटमा सडक माथि पहिरो आएर कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गुराँस गाउँपालिका–६ जिरो प्वाइन्ट र केराबारीमा सडक माथिबाट पहिरो आइ बन्द भएकाे सुर्खेत–दैलेख सडक खण्ड अहिले सञ्चालनमा आइसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे