लुम्बिनी प्रदेशको स्थायी राजधानीमा प्रदेशसभा भवन सार्ने चटारो



लुम्बिनी प्रदेशको स्थायी राजधानीमा प्रदेशसभा भवन सार्ने चटारो

भालुवाङ १४ भदाै । लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयनमा तीव्रता दिइएको छ । प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । असोजमा संसद् बैठक दाङमै बस्ने गरी तयारी गरिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले बताए ।

बाहिरी संरचना सबै निर्माण भइसकेको र भित्री सजावटका कामहरू तीव्र गतिम भइरहेको उनले बताए । ‘आउँदो संसद् बैठक यतै बस्ने गरी तयारी भएको छ । भवन भदौ महिनाभित्रै तयार पारिसक्ने योजना छ,’ उनले भने, ‘सभामुख आएर सबै काम हेर्नुभयो । काममा सन्तुष्ट हुनुभएको छ । अब सभा बस्न सक्ने कुरा निश्चित भएको छ ।’

यसका साथै राजधानी कार्यान्वनका लागि ११ वटा मन्त्रालयका भवनहरू निर्माण गर्न टेण्डर प्रक्रियामा जान थालेको पोख्रेलले बताए । ‘मन्त्रालयका भवनहरू निर्माणको प्रक्रिया थालनी भैसकेको छ । अन्य डीपीआर निर्माणका कामहरू पनि भइरहेका छन्,’ उनले भने, ‘यस वर्ष मात्रै ७ सय बिघा जमिन उपयोगका लागि तयार अवस्थामा राख्ने गरी काम भइरहेको छ ।’

५ करोड २१ लाख ९३ हजारको लागतमा संसद् भवन निर्माण गरिएको हो । प्रदेशसभा भवन २०७८ वैशाख २४ मा सम्झौता गरी प्रिफ्र्याब मोडेलमा साउन ३० भित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । बीचमा डिजाइन फेरेर बनाउन थालिएपछि अर्थ मन्त्रालयले बजेट रोकेको थियो । बजेट रोकिएपछि पुरानै डिजाइनमा बनाउने गरी सम्झौता थप भएको थियो ।

टेन्डरको रकम अनुसारका सबै काम सम्पन्न भएको र अब छुट आइटमहरूको मात्रै काम बाँकी रहेको निर्माण कम्पनी वाइवी इन्फ्रास्ट्रक्चरका सञ्चालक तथा इन्जिनियर यज्ञ केसीले बताए । ‘अब वायरिङ, चर्पी, आँखीझ्याललगायतका काममात्र बाँकी छन्,’ उनले भने, ‘दैनिक ६० जना मजदुरले काम गरिरहेका छन् । बजेट र सामान उपलब्ध भएमा काम केही दिनमै सकिन्छ ।’

लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयका विद्यार्थीहरू गढवाको सरस्वती मावि विद्यानगरमा सार्न थालिएको छ । लालमटियामा प्रदेश सरकारको प्रशासनिक केन्द्र बनाउने योजना अनुसार राप्ती प्राविधिक शिक्षालय गढवा सार्न थालिएको हो । साउन ३१ गते गढवामा शिक्षालयको साइनबोर्ड टाँगेर स्थानान्तरणको काम थालिएको शिक्षालयका सहायक प्रमुख कुलराज चौधरीले बताए ।

‘पढाइ सुरु गर्न सक्ने संरचना सबै तयार भइसकेको छैन । अहिले विद्युत्, पानीलगायतका आधारभूत आवश्यकताहरू जडान भइरहेका छन्,’ उनले भने, ‘सबै संरचना तयार भएपछि कक्षा सुरु हुन्छ ।’ भदौ २० गतेभित्रै फार्मेसी कक्षा सञ्चालन गर्ने र बिस्तारै अन्य कक्षा पनि चलाउने गरी तयारी भइरहेको उनले जानकारी दिए ।

सरस्वती माध्यमिक विद्यालयलाई नजिकैको प्राथमिक विद्यालयको पुरानो भवनमा पूर्वाधार थपेर स्थानान्तरण गरिएको छ । प्राविधिक शिक्षालयले उपयोग गरेको जग्गा तथा संरचना प्रदेश सरकारलाई उपभोग गर्न दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को २०७८ चैत १ गतेको बैठकले निर्णय गरेको थियो ।

प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले पनि राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माध्यमिक विद्यालय विद्यानगर गढवामा स्थानान्तरण गर्ने निर्णय गरेको थियो । शिक्षालय एसियन विकास बैंकको सहयोगमा २०५० सालमा स्थापना भएको हो ।

निर्वाचनअघि जसरी पनि प्रदेशसभा स्थायी राजधानीमा सार्ने योजना रहेको प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले बताए । ‘स्थायी राजधानी कार्यान्वयन गर्न हामी तीव्रताका साथ लागिरहेका छौं ।

हामी बिस्तारै भौतिक संरचना भएसम्म प्रदेशसभा र अन्य मन्त्रालयलहरू सार्ने तयारीमा छौं,’ उनले भने, ‘मंसिरको निर्वाचनअघि नै प्रदेशसभा दाङमा ल्याउने योजना भइरहेको छ ।’

हाल लालमटियामा पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय र मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गरिएको छ । सिसहनियामा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालय स्थापना गरिएको छ । अन्य मन्त्रालयहरू पनि स्थानान्तरण गर्दै जाने मन्त्री थारुले बताए ।

  • -कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे