गठबन्धनमा सिट बाँडफाँटका लागि कार्यदलको बैठक आज पनि बस्दै



गठबन्धनमा सिट बाँडफाँटका लागि कार्यदलको बैठक आज पनि बस्दै

काठमाण्डौ १० भदाै । सत्ता गठबन्धनले बनाएको सिट बाँडफाँट कार्यदल बैठक आज पनि बस्ने भएको छ। शुक्रबार अपरान्ह साढे ४ बजे बालुवाटारमा बैठक बस्ने कार्यदल सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

आजको बैठक विशेष गरी प्रदेश सभा निर्वाचन क्षेत्रमा केन्द्रित रहनेछ। ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा कहाँ कुन दलको अवस्था कस्तो छ भन्नेबारे विस्तृत रूपमा कार्यदलमा छलफल गर्ने तयारी छ। ‘प्रदेश क्षेत्रमा कहाँ कसको अवस्था के छ भन्नेबारे छलफल, विचार र विमर्श गर्छौं,’ उनले भने, ‘दलगत दाबीसहित खुलस्त कुरा हुन्छ।’

यस्तै प्रदेश सभा क्षेत्रमा सत्ता गठबन्धनका दलहरूले आ(आफ्ना दाबी पनि प्रस्तुत गर्ने तयारी गरेका छन्। कांग्रेसले गठबन्धन गर्ने ठाउँमा संघ वा प्रदेशका प्रत्येक क्षेत्रहरूमा कम्तिमा एक सिट आफूले पाउनुपर्ने दाबी गरिरहेको छ। अरू दलहरूले पनि आफूहरूले सम्मानजनक सिट पाउनुपर्ने बताइरहेका छन्।

बिहीबार बालुवाटारमै बसेको कार्यदल बैठकमा १६५ निर्वाचन क्षेत्रका बारेमा कहाँ कसको अवस्था कस्तो छ भन्ने विषयमा कुराकानी भएको थियो। दलहरूले आफ्ना दाबी पनि राखेका थिए। नेपाली कांग्रेसले १०० सिट दाबी गरेको छ। यस्तै नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको छ।

प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रमा विगतका निर्वाचनमा दलहरूले ल्याएका मत कति छन् त्यो विस्तृत केलाएर सिट बाँडफाँटबारे कार्यदलले प्रतिवेदन दिन लागेको छ। कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले यसबारे शीर्ष नेतालाई प्रतिवेदन दिएपछि शीर्ष नेताहरूले पुनस् छलफल गरी कहाँ कुन दलले उम्मेदवारी दिने भन्नेबारे एकिन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे