राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती मावि गोबरडिहामा व्यानर टाँगेर स्थानान्तरण
देउखुरी १ भदाै । लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयनले गति लिन थालेको छ । लामो समयको प्रयासपछि पूर्वसहमति अनुसार राप्ती प्राविधिक शिक्षालय सरस्वती माध्यमिक विद्यालय विद्यानगर गोबरडिहामा सारिएको छ ।
मंगलबार औपचारिकरुपमा शिक्षालयको साइनबोर्ड टाँगेर शिक्षालय स्थानान्तरण भएको औपचारिक जानकारी गराइएको छ । ‘साइनबोर्ड टाँगिएको छ । शिक्षालयका शिक्षक तथा विद्यार्थीहरुले पूजा अर्चना गरेर शुरुवात गरेका छन्’– शिक्षालय प्रमुख शालिकराम डाँगीले भने– ‘अब विद्यार्थीलाई पढाउने काम पनि यहींबाट शुरु गर्ने योजनामा छौं ।’ राप्ती प्राविधिक शिक्षालय भएको स्थानमा प्रदेशको प्रशासनिक केन्द्र बनाउने र शिक्षालयलाई गोबरडिहामा सार्ने सरकारको पूर्वनिर्णय थियो ।
सोही निर्णयको आधारमा शिक्षालय स्थानान्तरणको काम शुरु भएको डाँगीले जानकारी दिए । साउन ३१ गतेबाट शिक्षालय स्थानान्तरणको काम शुरु गर्ने पूर्वनिर्णय थियो । त्यो निर्णयलाई शिक्षालयबाट कार्यान्वयन थालिएको हो ।
नियमित पठनपाठनको लागि केही दिन लाग्ने शिक्षालयले बताएको छ । ‘पढाइ शुरु गर्न सक्ने संरचना अहिले नै छ । तर प्राविधिक विषय भएकाले अभ्यास गर्ने केही ठाउँको अभाव छ । त्यो बन्दैछ’– शिक्षालयका शिक्षक सुरेश जीएमले भने– ‘भदौको मध्यतिरबाट पढाइ सञ्चालन गर्ने योजना छ ।’
प्रदेश सरकारले शिक्षालयको व्यवस्थापनका लागि बजेट तथा कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । सोही आधारमा अहिले शिक्षालयलाई चाहिने पूर्वाधारहरु बन्न थालेका छन् । हाल सरस्वती माध्यमिक विद्यालयको पुरानै संरचना मर्मत गरेर शिक्षालयको पठनपाठन थालिनेछ ।
बाँकी दीर्घकालीनरुपमा सुविधासम्पन्न पूर्वाधार बनाउने योजना रहेको स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले बताए । ‘शिक्षालयको दीर्घकालीन व्यवस्थापनको काम पनि अघि बढेको छ । अहिले पुरानै संरचनामा शिक्षालय चले पनि पछि सुविधासम्पन्न भवन र पूर्वाधाहरु हुनेछन्’– उनले भने– ‘प्रदेश राजधानी कार्यान्वयनका लागि महत्वपूर्ण कामको रुपमा स्थापित हुनेछ ।’
मौरीघाटमा प्रदेशका मन्त्रालय र प्रशासनिक कार्यालयहरु स्थापना गरिने छ । हाल त्यहाँ पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गरिएको छ । ठाउँ अभावका कारण सिसहनियामा स्वास्थ्य मन्त्रालय राप्ती गाउँपालिका–५ को कार्यालयमा स्थापना गरिएको छ ।
शिक्षालयभित्र प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । शिक्षालय पूर्णरुपमा गोबरडिहा स्थानान्तरणपश्चात प्रदेशसभा बैठक सञ्चालनका लागि सहज हुने देखिन्छ । ‘शिक्षालय पूर्णरुपमा गोबरडिहा सरेलगत्तै प्रदेशका मन्त्रालयहरु सबै मौरीघाटमा आउनेछन’– मन्त्री थारुले भन्नुभयो– ‘मुख्यमन्त्री कार्यालय, प्रदेश प्रमुखको कार्यालयलगायतका अन्य महत्वपूर्ण कार्यालय पनि सँगै रहनेछन् ।’
सरस्वती माध्यमिक विद्यालयलाई नजिकै प्राथमिक विद्यालयको पुरानो भवन क्षेत्रमा पूर्वाधार थपेर स्थानान्तरण गरिएको छ । राजधानी कार्यान्वयनका लागि दुईवटा संस्थाहरु एक ठाउँबाट अर्काे ठाउँमा सारिएको छ । ‘शिक्षालय र विद्यालय अस्थायी संरचनामा सारिएको छ ।
स्थायी संरचनाको लागि डिपिआर तयार भइसकेको छ’– गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले भने– ‘राजधानी कार्यान्वयनको लागि थप मद्दत पुग्ने देखेका छौं ।’ शिक्षालयमा कृषि, भेटेरेनरी, सिभिल इञ्जिनियरिङलगायत थुप्रै प्राविधिक विषयको पढाइ हुँदै आएको छ । हाल शिक्षालयमा छ सय ९० विद्यार्थी अध्ययनरत छन् ।
प्राविधिक शिक्षालयले उपयोग गरेको जग्गा तथा संरचना प्रदेश सरकारलाई उपभोग गर्न दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को २०७८ चैत १ गते बसेको बैठकले निर्णय गरेको थियो ।
यसअघि सरकारको निर्णयको आधारमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सानोठिमीले शिक्षालय स्थानान्तरण सम्बन्धमा समेत पत्र पठाएको थियो । प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले समेत राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गर्ने निर्णय गरिसकेको थियो ।
कोठाभाडा तोकियो
गोबरडिहा क्षेत्रमा विद्यार्थीहरुलाई सजहरुपमा न्यून शुल्कमा कोठा भाडामा लगाउन अपिल गरिएको छ । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलको नेतृत्वमा बसेको बैठकले सामान्य घरको चर्पी, पानी र बत्तीसहितको कोठा भाडा एक हजारपाँच सयदेखि बढीमा दुई हजारसम्म लिन पाउने र स्तरीय ट्वाइलेट, खानेपानी, बत्ती र वाइफाइको सुविधा भएको घरमा प्रतिकोठा दुई हजार पाँच सयसम्म मात्र लिन पाउने निर्णय गरेको वडाध्यक्ष हरिभगत चौधरीले जानकारी दिए ।
बैठकले विद्यार्थी र घरधनीहरुबीच कुनै समस्या आइपरे त्यसलाई समाधान गर्न हरिभगत चौधरीको संयोजकत्वमा सात सदसीय सहजीकरण समिति गठन गरेको छ । जसका सदस्यहरुमा अतिउल्ला मनिहार, हुकमान कुँवर, प्रदीप केसी, कमल खड्का, सूर्यनारायण चौधरी, हिकराम थारु कुमाल रहेका छन् । नयाँ युगबोधबाट साभार