म्याद थपेको थप्यै



म्याद थपेको थप्यै

घोराही । शहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत घोराही बजार आसपासमा बन्दै गरेको नाला र फूटपाथ बनाउने म्याद फेरि थप गर्ने तयारी गरिएको छ ।

२०७८ असार १५ गतेभित्रै सक्नुपर्ने गरी २०७७ चैत १ गते सम्झौता भएको उक्त ठेक्काको एक पटक म्याद थपेर पनि फेरि थप गर्ने तयारी शहरी विकास तथा भवन कार्यालय दाङले गरेको छ ।

घोराही उपमहानगरपालिकाअन्तर्गत घोराही बजारमा इन्टरलकिङ ब्लक÷छाप्ने ढुंगा प्रयोग गरी सडक तथा फूटपाथ निर्माण शीर्षकमा विनियोजित बजेटमा आत्रेय÷पूर्णचन्द्र÷बस्नेत जेभीसँग भ्याटबाहेक चार करोड ८१ लाख २३ हजार सात सय दुई रुपैयाँमा सम्पन्न गर्ने सम्झौता भएको थियो । शहरी विकास तथा भवन कार्यालय दाङका सूचना अधिकारी प्रेमप्रकाश खड्काले दिएको जानकारी अनुसार पछिल्लो पटक म्याद थपका लागि पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयमा गएको मंसिर १९ गते पत्र पठाइएको थियो । २०७९ साउन ८ गते निर्माण कम्पनीले २०७९ फागुन २५ गतेभित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएपछि अहिले फेरि २०७९ फागुन २९ गतेसम्मका लागि म्याद थप गर्न मन्त्रालयमा पत्र पठाइएको छ ।

घोराही बजारको तुलसीपुरचोक (भानुचोक) देखि गुलरिया चोकसम्म, नेपाल बैंक लिमिटेड अगाडिदेखि सहिद गेट हुँदै जिल्ला प्रशासन कार्यालयसम्म र बुद्ध हस्पिटल अगाडिबाट धारापानी जाने रोडको भरतपुर क्याम्पसको अन्तिम प्वाइन्टसम्म नाला र फूटपाथ बनाउन ठेक्का सम्झौता भएको थियो । २०७८ असार १५ सम्म करिब चार महिनाको अवधिमा काम सम्पन्न नभएपछि २०७८ भदौ ३ गतेको मन्त्रिपरिषद् निर्णयलाई आधार बनाएर २०७८ असोज २२ गते पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयले चैत ३० गतेसम्म म्याद कायम गरेको थियो ।

सो समयमा समेत काम सम्पन्न नगर्दा २०७९ असार २० गतेको सार्वजनिक खरिद नियमावली २०६४ को १२ औं संशोधनलाई आधार बनाएर फेरि म्याद थपका लागि मन्त्रालयमा पत्र पठाइएको हो । सार्वजनिक खरिद नियमावली २०६४ को १२ औं संशोधनले २०८० असार ३० सम्म म्याद थप गर्न सक्ने व्यवस्था गरेको छ । काम सम्पन्न नभएर म्याद थपका लागि निवेदन परेका ठेक्काको ३० दिनभित्रै म्याद थप गर्नुपर्ने व्यवस्था नियमावलीमा छ ।

प्रगति कति ?

घोराही बजार आसपासमा बन्दै गरेका नाला र फूटपाथको काम अन्तिम चरणमा रहेको शहरी विकास तथा भवन कार्यालय दाङले जानकारी दिएको छ । कार्यालयका सूचना अधिकारी खड्काले भौतिक प्रगति ८० प्रतिशत भएको र वित्तीय प्रगति ७० दशमलव ९१ प्रतिशत भएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ठेकेदारले तीन करोड ८५ लाख ५९ हजार पाँच सय ७५ रुपैयाँ लगिसकेका छन् । हाल सम्म पाँच हजार छ सय ४३ दशमलव ३८ रनिङ मिटर कर्भ स्टेशन, तीन हजार चार सय ६० रनिङ मिटर पक्की नाली र चार हजार तीन सय ३ दशमलव ९१ रनिङ बर्ग मिटर इन्टरलकिङ ब्लकको काम सम्पन्न भइसकेको छ ।

अझै सहिदगेटदेखि अदालतसम्म, महेन्द्र बहुमुखी क्याम्पस भरतपुर अगाडि र बुद्ध हस्पिटल अगाडिको उकालोमा नाला र फुटपाथको काम बाँकी रहेको कार्यालयले जनाएको छ । दीपशिखा रोडमा फिनिसिङ र टुटफुटको काम बाँकी रहेको शहरी विकास तथा भवन कार्यालय दाङका इञ्जिनियर मनोज नेपालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे