दाङमा खोलाले बगाउँदा एक किशोरीको मृत्यु



दाङमा खोलाले बगाउँदा एक किशोरीको मृत्यु

दाङ १६ साउन । दाङमा खोलाले बगाउँदा एक जना किशोरीको मृत्यु भएको छ । काठमाडौं महाराजगञ्ज निवासी १७ वर्षीया सुनिता बुढा मगरको सोमबार दिउँसो दाङमा खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

घोराहीस्थित दिदीको घरमा आएको समयमा साथीहरूसँगै घुम्न गएको बेला सोमबार दिउँसो साढे ४ बजेतिर सुनितालाई खोलाले बगाएर मृत्यु भएको हो । डिएसपी रिजालका अनुसार घोराही उपमहागनरपालिका–१४ निवासी २१ वर्षीय हिक्मत बुढामगर घाइते भएका छन् ।

उनीहरु सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा चार जना दाङको पहाडी गाउँपालिकाका रुपमा रहेको बंगलाचुली गाउँपालिकाको मर्फेस घुम्न गएका थिए । तर पानी पर्न थालेपछि घुम्न गएका उनीहरू बाटोबाटै फर्किएका थिए । फर्किने क्रममा बंगलाचुली गाउँपालिका–२ स्थीत स्याला खोलाले बगाउँदा सुनिताको मृत्यु भएको हो ।

खोलाले दुई वटा मोटरसाइकल बगाएको भएपनि रा ३ प ५०६३ नम्बरको मोटरसाइकलमात्रै खोलामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे